
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ११औँ महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने बताएका छन् ।
सोमबार पत्रकार सम्मेलनमा उनले जनताको बहुदलीय जनवादको उत्तराधिकारी ओली भएकाले उनी नै अध्यक्ष बन्नुपर्ने बताए ।
जनताको बहुदलीय जनवादका उत्तराधिकारीका हिसाबलेनि केपी ओली ११औँ राष्ट्रिय महाधिवेशनबाट एमालेको अध्यक्ष बन्नुपर्छ । त्यसकारण मैले समर्थन गरेको हो । उहाँलाई बनाउनुपर्छ, गुरुङले भने ।
उनले परिवारको सदस्य हुँदैमा जबजको उत्तराधिकारी नहुने बताए । ओली देशको ब्रान्डिङ नेता भएको गुरुङको तर्क छ ।
सडकमा उठेका कुराका आधारमा अध्यक्ष फेर्दै जाने हो भने स्वायत्तता सकिने गुरुङले बताए । अरु कसैको ऐजेन्डा पूरा गर्न ओलीलाई हटाउन नहुने उनको भनाइ छ । ओलीको आचरण व्यवहारामा धेरैको विमति भए पनि राष्ट्रवादी नेतामा विमति नहुने उनको तर्क छ ।

















