
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न वर्तमान सरकार आतु रहेको दाबी गरेका छन् ।
सुशासनको आधार बलियो बनाउँदै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफूहरू आतुर रहेको उनको भनाइ छ ।
लुम्बिनी प्रदेशद्वारा आज भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । मुलुकको सुरक्षा अवस्था सामान्य बनाउन सरकार सफल भएको बताउँदै उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने जिकिर गरे ।
सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखी भएको जेनजी आन्दोलनपश्चात विषम परिस्थितिमा यो सरकार गठन भएको भन्दै उनले त्यसबेलाको त्रासदीपूर्ण अवस्थालाई पार लगाउँदै सरकारले सुरक्षाको अवस्थालाई सामान्य बनाउन सफलता पाएको बताए ।
सुशासन प्रबर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारको भएको पनि उनले बताए । साथै गृहमन्त्री अर्यालले वर्तमान सरकार कसैको निगाहमा नबनेको पनि बताए ।
प्राप्त जिम्मेवारीलाई अर्जुन दृष्टिमा राखेर हाँसिल गर्ने दिशामा सरकार रहेको बताएका गृहमन्त्रीले सुशासनको आधार बलियो बनाउने, भोलिको दिनमा बिगार्न नसक्ने वातावरण तयार गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने बताए ।
‘भयरहित निश्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरूमध्ये यो सुरक्षा गोष्ठी पनि एक हो । हामीले यस सुरक्षा गोष्ठीमा लुम्बिनी प्रदेशको सुरक्षा चुनौती संश्लेषण गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि आवश्यक तयारी गर्ने छौं,’ उनले भने ।
सरकारले निर्वाचन पूर्व, निर्वाचनको अवधि र निर्वाचन पश्चात्का कार्यहरूमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरू बनाएको पनि उनले बताए ।
मन्त्री अर्यालले गोष्ठीमा गृह र प्रदेश सरकारका यी प्रयासहरूका बारेमा समीक्षा गरी थप प्रभावकारी रूपमा अगाडि बढ्नेगरी रणनीति तय गर्नेमा समेत बताए ।


















