Skip

Hamro Sanchar

लक्ष्मीनारायणका ५ सयभन्दा बढी महिलाहरुले एकसाथ मनाए तीज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ७ गते


काठमाडौं । लक्ष्मीनारायण बचत तथा ऋण सहकारीले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान तथा तीज विशेष कार्यक्रममा सम्पन्न गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ बाट सेवा प्रदान गर्दै आइरहेको संस्थाले मुलपानी पिपलबोटस्थित एक पार्टी प्यालेसमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाको महिला तथा सामाजिक उपसमितिले नेपाली नारीहरुको महान चाड तीज नजिकिदै गर्दा संस्थामा ‘महिला तीज बचत’ गर्ने ५ सयभन्दा बढी महिला सदस्यहरुको सहभागितामा तीज विशेष कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख उपेन्द्र कार्कीले सहकारीमार्फत महिलाहरुले उत्पादनको क्षेत्रमा लगानी गरेर आत्मनिर्भर बन्नुपर्ने उनले बताए । उनले उत्पादनमूलक र व्यावसायिक क्षेत्रमा लगानी गरी महिलाहरुले आयआर्जन, आर्थिक कारोबारसँगै समाज परिवर्तन र रुपान्तरणका लागि लाग्नुपर्नेमा बताए । महिलाहरु उद्यमशील बन्नुपर्नेमा जोड दिँदै नगरप्रमुख कार्कीले त्यसका लागि नगरपालिका सहयोग गर्न र साथ दिन तयार रहेको बताए ।

कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष शंकर थापाले सहकारीले ‘महिला तीज बचत’को कार्यक्रम ल्याएको र त्यसैअनुरुप बचत गर्ने सदस्यहरुको लागि तीज कार्यक्रमको आयोजना गरि एक आपसमा सुख दुःख साटासाट र शुभकामना व्यक्त गर्नुका साथै दर खाने कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनकाअनुसार संस्थाको ‘महिला तीज बचत’ कार्यक्रम अन्तर्गत ५ सयभन्दा बढी महिला सदस्यहरु समावेश भएका छन् ।

अध्यक्ष थापाकाअनुसार संस्थाले आर्थिक बर्ष २०८१/८२ को साउनदेखि नै संस्थामा आवद्ध महिला सदस्यहरु केन्द्रित ‘सुत्केरी भेटघाट तथा नवजात शिशु स्वागत कार्यक्रम राखेको छ । उनीहरुबाट जन्मेका बच्चालाई संस्थाले त्यहि दिनबाट ५ सय रुपियाँ बचत गर्दै नि:शुल्क सदस्य बनाउने छ ।

कार्यक्रममा वडा नम्बर-६ का अध्यक्ष प्रकाश फुयाल, ७ का अध्यक्ष भीमसेन थापा, नगरपालिका सहकारी शाखा प्रमुख विश्वास ज्ञवाली, आनन्द भैरव माध्यमिक विद्यालयकी प्रधानाध्यापक सरस्वती थापा कार्की लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रममा आनन्द भैरव र गणेश हिमाल स्कुलमा अध्ययनरत विद्यार्थीहरुले सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए भने कार्यक्रममा नाचगानसमेत गरिएको थियो ।

मुलपानीकै पहिलो सहकारीका रुपमा स्थापित सहकारीमा स्थानीय २ हजारको हाराहारीमा सेयर सदस्य रहेका छन् भने ३० करोड बढी रुपैयाँको पुँजी रहेको जनाइएको छ ।

संचालक समिति सदस्य तथा तीज बिशेष कार्यक्रम संयोजक बबिना खड्काको स्वागत र लेखा सुपरिवेक्षण समिति सदस्य कौशिला बस्नेत द्धारा संचालित कार्यक्रममा दर खुवाउनुका साथै नाचगान समेत गरिएको थियो ।

यस्तै सहकारीले १८औं स्थापना दिवसको अवसर पारेर शुक्रबार रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा ६१ जना दाताले रक्तदान गरेका छन् ।

सहकारीले स्थापना दिवस लक्ष्मीनारायण उत्सवका रुपमा मनाएको छ । बिहान आफ्नो कार्यालयमा पुजा गरेर रक्तदान कार्य, तिज बिशेष सांस्कृतिक कार्यक्रमसहित १८औं स्थापना दिवस मनाएको हो ।


प्रतिकृया दिनुहोस्