Skip

Hamro Sanchar

एमाले निकट प्रेस चौतारीको निर्वाचन कार्यक्रम सार्वजनिक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १० गते


काठमाडौं । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल १० महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।

निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले हस्ताक्षर गरेको सूचनामा १ बजे मतदाता नामावली प्रकाशित गरेर साढे ४ बजे निर्वाचन परिणाम घोषणा गर्ने उल्लेख छ ।

मतदान नगराइ ‘सर्वसम्मत’ नेतृत्व छनोट गर्ने तयारी सहित यो सूचना जारी भएको हो । सूचनामा ‘बन्दसत्रले सर्वसहमत निर्वाचन गर्नका लागि अध्यक्ष मण्डललाई म्यान्डेट दिएको’ उल्लेख छ ।

सूचना अनुसार दिउसो १ बजे पहिलो मतदाता नामाबली प्रकाशन भइ दावीविरोधपश्चात साढे २ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । त्यसपछि पौने ३ बजे अध्यक्ष मण्डलसमक्ष उम्मेदवार मनोनयन दर्ता गर्ने समय तोकिएको छ।

तर, उम्मेदवारहरुले मनोनयन दर्ताका लागि फारम माग्दा अध्यक्ष मण्डलले नदिएको त्यहाँ रहेका एक प्रतिनिधिले जानकारी दिए ।

‘उम्मेदवारी दर्ताका लागि १५ मिनेट समय राखिएकोमा मनोनयनपत्र नै दिइएको छैन’, ती प्रतिनिधिले भने, ‘महाधिवेशन बाहिर नै सबै पदाधिकारी फाइनल गरेर यहाँ नाम मात्रै सुनाइने तयारी जस्तो देखिन्छ ।’

प्रेस चौतारीको आगामी अध्यक्षका लागि गणेश पाण्डे र राजेश राई प्रमुख आकांक्षी हुन् । एमालेले सर्वसम्मत नेतृत्व छनोट गर्न सन्देश पठाएको छ । सोहीअनुसार अध्यक्ष मण्डलले निर्वाचन नगराउने तयारी गरेको चर्चा प्रतिनिधिहरुले गरिरहेका छन् ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशनका लागि ४ः२० बजे समय तोकिएको छ भने निर्वाचन परिणाम घोषणा ४ः३० मा गर्ने भनिएको छ । मतदानको समय सूचनामा उल्लेख नै छैन ।

मतदान केन्द्र भने बिराटनगरको होटल मनास्लु इनमा तोकिएको छ । उम्मेदवारको नामावली प्रकाशन र निर्वाचन परिणाम घोषणामा जम्माजम्मी १० मिनेटको अन्तराल राखिएकाले चुनाव नगराइने आशंका प्रतिनिधिले गरेका छन् ।

चुनावमा मनोनयनका लागि तोकिएको शुल्कप्रति पनि आकांक्षीहरु असन्तुष्ट छन् । शुल्क अत्यधिक महंगो भएको उनीहरुको गुनासो छ । सूचना अनुसार अध्यक्षमा उम्मेदवारी दिन ३५ हजार रुपैयाँ बुझाउनुपर्ने छ ।

पदाधिकारीका लागि २५ हजार, आयोग अध्यक्षका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकिएको छ।

 


प्रतिकृया दिनुहोस्