काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य अघि बढाएको छ । तर, भ्रमणको मिति भने अहिलेसम्म तय भएको छैन ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको जानकारी दिएका हुन् ।
उनका अनुसार नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमण हुनेछ । उच्चस्तरीय भ्रमणको तयारी नियमित रूपमा अघि बढिरहेको भए पनि मिति निश्चित भइनसकेको उनले स्पष्ट पारे ।
यसअघि मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल–भारतबीच आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल गर्ने गरी एजेन्डा तयार पार्ने काम भइरहेको जनाएको थियो ।
प्रवक्ता क्षेत्रीले अन्य उच्चस्तरीय भ्रमणको तयारी तथा त्यसका एजेन्डामाथि पनि मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।































