
काठमाडौं, चैत ७- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ मा रहेको दिव्यश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचकर्ताको ३ लाख रुपियाँ फिर्ता गरेको छ ।
नगरपालिकाको सहकारी शाखाको पहलमा पहिलो चरणमा २ जना बचतकर्ताको उक्त रकम फिर्ता गरेको हो । जसअनुसार ३ महिनाअघि उजुरी गरेका नबिन ठकुरीको ४ लाख १० हजारमध्ये १ लाख ७० हजार र बसन्त पन्थीको १ लाख ३० हजार फिर्ता गरेको हो ।
संचालक समितिका अध्यक्ष कृष्णहरी बिष्ट, उपाध्यक्ष महेश बिष्ट र ब्यबस्थापक नविन श्रेष्ठ सहकारी शाखाको कार्यालयमै पुगेर काँडाघारी प्रहरी प्रभाग प्रमुख र थली प्रहरी चौकी प्रमुखको रोहबरमा पिडितलाई हस्तान्तरण गरेका हुन् ।
ठकुरीको ४ लाख १० हजारमध्ये २ लाख ४० हजार यहिँ चैत मसान्तभित्र पिडितलाई फिर्ता गर्नेहरी कागज गराई छोडिएको सहकारी शाखा प्रमुख विश्वास ज्ञावालीले जानकारी दिए ।
बचतकर्ताको उजुरीपश्चात् नगरपालिकाले ३५ दिने सूचना निकालेर सम्पर्कमा आउन भनेपनि संचालक समितिका अध्यक्षसहित अन्य पदाधिकारीहरु सम्पर्कमा आएका थिएनन् । तर प्रहरीसँगको समन्वयमा सहकारी साखाले बुधबार (हिजो) कार्यालयमै उपस्थित गराएको थियो ।
पछिल्लो केहिदिनमा ७ लाख बराबरको ३ वटा उजुरी परेको शाखा प्रमुख ज्ञावालीले जानकारी दिए ।
बचतकर्ताले बारम्बार रकम फिर्ताको लागि माग गर्दा सहकारीका सञ्चालकले बेवास्ता गरेपछि बचतकर्ताले ३ महिना अगाडी सहकारी शाखामा उजुरी हालेका थिए । त्यसलगत्तै उजुरी सम्बन्धमा नगरप्रमुख उपेन्द्र कार्की, सहकारी अनुगमन संयोजक तथा नगर उप-प्रमुख शान्ता थापा र वडा नम्बर-७ का अध्यक्ष भीमसेन थापाले समेत चासो व्यक्त गरेका थिए ।
सोमबार मात्रै शाखाले वडा नम्बर-९ मा रहेको गहना बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका ११ जना बचकर्ताको १४ लाख ५५ हजार ३ सय रुपियाँ फिर्ता गराएको थियो ।
यो पनि पढ्नुहोस्- कागेश्वरीको गहना सहकारी ठगी: दुबईबाट झिकाइयो अध्यक्ष, बचतकर्ताको १४ लाख बढी रकम फिर्ता

















