
काठमाडौं, चैत ४- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-९ मा रहेको गहना बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले बचकर्ताको १४ लाखभन्दा बढी रकम फिर्ता गरेको छ ।
नगरपालिकाको सहकारी शाखाको पहलमा ११ जना बचतकर्ताको १४ लाख ५५ हजार ३ सय रुपियाँ फिर्ता गरिएको शाखा प्रमुख विश्वास ज्ञावालीले हाम्रोसंचारलाई जानकारी दिए ।
जसमा आशिस पराजुलीको ३ लाख २० हजार, धन बहादुर थापामगरको ७२ हजार ५ सय, प्रेम कुमारी बुढाथोकीको ६ लाख ५० हजार, जमुना खड्काको ५८ हजार ५ सय, सुनिता सिंहको ३७ हजार ५ सय, सम्झना थापाको ३६ हजार ५ सय, खुम बहादुर बस्नेतको २० हजार, असिम भुजेलको १ लाख ४५ हजार ५ सय, निरज प्रसाद भट्टको ५२ हजार, राधिका सुवेधीको १० हजार र रेनुका बुढाथोकीको १४ हजार ५ सय आइतबार फिर्ता गरिएको हो ।
बचतकर्ताहरुको उक्त रकम काँडाघारी प्रहरी प्रभाग प्रमुख र थली प्रहरी चौकी प्रमुखको उपस्थितिमा संचालक समितिका अध्यक्ष कपिल बिष्टसहितले सहकारी शाखाको कार्यालयमा पुगेर स्वम् पिडितहरुलाई फिर्ता गरेका हुन् ।
फिर्ता गरिएको उक्त रकम बचतकर्ताहरुको बचतको ५० प्रतिशत मात्र हो । बाँकी बचत रकम यसै आर्थिक बर्षभित्र फिर्ता गर्नेगरि कागज गरिएको शाखा प्रमुख ज्ञावालीले बताए ।
यसअघि बचत रकम फिर्ता दिन नसक्दा अध्यक्ष कपिल बिष्टसहित संचालक समिति भागेका थिए । अध्यक्ष बिष्ट भागेर २ बर्षदेखि दुबईमा लुकेर बसेका थिए । उनलाई सहकारी शाखाको पहल र नेपाल प्रहरीको संयोजनमा नेपाल झिकाइएको हो ।
यस्तै संचालक समिति सदस्य शिला रायमाझी र नवराज धिताललाई प्रहरी वृत कमल पोखरीको सहयोगमा डिल्लीबजारबाट झिकाई कागज गराई ठगी गरिएको रकम असुली गरिएको हो । अझै अर्का संचालक समितिका सुदिप थिंग भागेर विदेश पुगेको पत्ता लागेपछि उनलाई पनि झिकाउने कार्य अगाडी बढेको भैरहेको प्रहरी श्रोतले जानकारी दिएको छ ।
२०७७ सालमा नगरपालिकामा दर्ता भएको गहना सहकारीका संचालक संचालनमा आएको केहि वर्षमा १ सय सर्वसाधारणले बचत गरेको एक करोड भन्दा बढी रकम अपचलन गरेर फरार भएका थिए ।
हिजो र आज मात्रै पनि थप २५ जना बचतकर्ताको ६० लाख बराबरको रकम ठगी गरेको भन्दै सहकारी शाखामा उजुरी परेको छ ।
बचतकर्ताले बारम्बार रकम फिर्ताको लागि माग गर्दा सहकारीका सञ्चालकले बेवास्ता गरेपछि बचतकर्ताले ३ महिना अगाडी सहकारी शाखामा उजुरी हालेका थिए । त्यसलगत्तै उजुरी सम्बन्धमा नगरप्रमुख उपेन्द्र कार्की, सहकारी अनुगमन संयोजक तथा नगर उप-प्रमुख शान्ता थापा र वडा नम्बर-९ का अध्यक्ष अनिल थापाले समेत चासो व्यक्त गरेका थिए ।
नगरपालिकाले गत माघ महिनामै सूचना जारी गरेर गहना बहुउदेश्यीय सहकारीले नगरपालिकाले माग गरेका विवरणहरु उपलब्ध नगराएको, अनुगमनमा पनि सहकारी संस्थाको कार्यालय, सम्पर्क र ताकेता गर्दा पनि संस्थाले कुनै पनि तत्परता नदेखाएको, संस्थासँग सम्पर्क स्थापित गर्न नसकिएको र कानुनले दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने भनि निर्दिष्ट गरेको कुनैपनि किसिमका विवरणहरु उपलब्ध नगराएको साथै बचतकर्ताहरुको लिखित उजुरी समेत आएको सूचना जारी गर्दै संस्थालाई सूचना जारी भएको ३५ दिनभित्र सम्पर्कमा आउन भनेको थियो तर उक्त सहकारीका संचालकहरु भागेका थिए ।


















