Hamro Sanchar

आनन्द भैरव माविले विभिन्न कार्यक्रम गरेर मनायो ४३औं वार्षिकोत्सव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १४ गते


काठमाडौं, पुस १४- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ मा रहेको श्री आनन्द भैरव माध्यमिक विद्यालयले ४३औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।

विद्यालयले नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरि आइतबार बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।

विद्यालयले सो अवसरमा एसइई तथा कक्षा १२ मा उतिर्ण विद्यार्थीलाई सम्मान तथा बिदाईसमेत गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर थापाको सभाध्यक्ष तथा नगरप्रमुख कार्कीकाे प्रमुख आतिथ्यता, शिक्षा शाखा प्रमुख पुष्प ढकाल, संबिधान सभा सदस्य दिपक कुइकेल, वडा नम्बर-६ का अध्यक्ष प्रकाश फुयाल तथा प्रधानाध्यापक सरस्वती थापा कार्कीको बिशेष आतिथ्यता रहेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, ब्यबस्थापन समितिका अध्यक्ष, विद्यालयका संस्थापक सदस्य तथा समाजसेवीहरुको आतिथ्यमा रहेको थियो ।

कार्यक्रममा प्रधानाध्यापक सरस्वती थापा कार्कीले वार्षिक प्रतिवेदन पेश गर्दै भावी महत्वाकांक्षी योजनाहरुसमेत प्रस्तुत गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक कार्कीले विद्यार्थीको संख्या उल्लेख्य रहेको जानकारी दिँदै विद्यालयमा स्मार्ट बोर्ड, इसिडी कक्षा संचालन, अपाङ्गमैत्री शौचालय, बालमैत्री डेस्कबेन्च, इन्टरनेट, सुविधायुक्त पुस्तकालय रहेको बताइन् । उनले विद्यालयमा विद्यार्थीहरुको संख्याअनुसार भौतिक संरचना नभएको भन्दै वडाभित्रै ७ रोपनी २ पैसा जग्गामा सुबिधा सम्पन्न भवन निर्माण गरेर गुणस्तरीय शिक्षा उपलब्ध गराउने योजना रहेको जानकारी दिइन् ।

कार्यक्रममा प्रमूख अतिथि नगरप्रमुख कार्कीले विद्यालयले उनले आनन्द भैरवले पछिल्लो समय हरेक क्षेत्रमा सोचेअनुरुपको सफलता हासिल गरेको भन्दै प्रशंसा गरेका थिए । शिक्षा नै विकासको मेरुदण्ड भएकोले विद्यार्थीहरुले सङ्घर्ष गरेर शिक्षा आर्जन गर्न निरन्तर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । नगरपालिकाले एनजी उन्मुलन अभियान संचालन गरेको जानकारी दिँदै कुनैपनि हालतमा विद्यार्थीले ३५ प्रतिशतसम्म ल्याउने गरि अध्यापन गराउन शिक्षकहरुलाई निर्देशनसमेत दिए ।

कार्यक्रममा विद्यालयका विभिन्न प्रतियोगिता, खेलकुद र विभिन्न विधामा प्रथम, द्दितीय र तृतीय हुने छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि राखिएका थिए ।

विद्यालयमा १ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रमका सभाअध्यक्ष तथा वि.वि.स. अध्यक्ष थापाले नगरपालिका र वडा कार्यालय विद्यालय प्रति थप जिम्मेवार भएको र अबका दिनमा पनि विद्यालयलाई थप सुधार र प्रतिफल ल्याउनेमा केन्द्रित रहेको बताए ।

अध्यक्ष थापाले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ संख्यामा विदेशिरहेका नेपालीहरुलाई रोक्न स्वदेशमै रोजगारी र सीपमुलक शिक्षा दिनुपर्ने बताएका छन् । त्यस्तो शिक्षा प्रदान गर्न कागेश्वरी मनोहरा नगरपालिकाको ध्यान जानुपर्ने उनको भनाई थियो ।

अबको शिक्षा जीविकोपार्जन र राष्ट्रका लागि ब्यबसायिक हुनु पर्नेमा उनको जोड थियो ।


प्रतिकृया दिनुहोस्