काठमाडौं । नेकपा (एमाले)ले कीर्तिपुरमा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज वैदिक विधिअनुसार उक्त कार्यालय भवनको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा एमाले उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत एमाले नेता÷कार्यकर्ताको उपस्थिति रहेको छ ।
एमालेले पार्टी सदस्यहरूको सदस्यता शुल्क र सहयोगबाट पार्टी मुख्यालय भवन निर्माण गर्ने तयारी गरेको छ ।
सो जमिन एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका प्रमुख मीनबहादुर गुरुङले उपलब्ध गराएका हुन् ।
२०७२ सालको भूकम्पपछि काठमाडौं महानगरपालिका–१४ मदननगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको थियो । त्यसयताका नौ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको छ ।
हाल च्यासलस्थित पार्टी कार्यालयमा पनि हरेक वर्ष बाढीको सामना गर्नुपरेकाले स्थायी रूपमा केन्द्रीय कार्यालय बनाउने काम सुरु गरिएको एमालेले जनाएको छ ।