Hamro Sanchar

बीपी राजमार्ग एकतर्फी खुल्यो, सवारीसाधन चल्न थाले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २५ गते


Advertisement

काभ्रे । काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो बीपी राजमार्ग एकतर्फी खुलेको छ ।

असोज ११ र १२ गतेको बाढी पहिरोले पूर्णरुपमा अवरुद्ध भएको बीपी राजमार्ग नेपाली सेनासहितका सुरक्षाकर्मी, सडक विभाग र स्थानीय पालिकाले अहोरात्र खटिएर १४ दिनपछि आजबाट एकतर्फी खुलाउन सफल भएका हुन् ।

बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी- ९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बनाएसँगै बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो ।

रोशी ९ बोक्सीकुनाको डाइभर्सन बनेपछि बीपी राजमार्गमा सवारीसाधन चल्न थालेका छन् ।

यही असोजको दोस्रो हप्ताको बाढीपहिरोले राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्म क्षति पुर्याएपछि बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध थियो । राजमार्ग खुलाउन चौकीडाँडा र नेपालथोक दुवैतिरबाट निर्माण सुरू गरिएको थियो ।

नेपाली सेनासहितका सुरक्षाकर्मी, सडक विभाग र स्थानीय पालिकाहरुको अग्रसरतामा शुक्रबार बिहान ८ बजेबाट राजमार्ग खुलाइएको हो । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुलेको छ।

केही ठाउँमा खोला फर्काएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै सडक प्रयोग गरिएको छ ।


प्रतिकृया दिनुहोस्