काठमाडौं । माओवादी अध्यक्ष तथा पूर्वप्रधानममन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी प्रकरणमा रवि लामिछानेमाथि सरकारले कारबाही गरे आफूहरूले ‘डिस्टर्ब’ नगर्ने बताएका छन् ।
आज बिहान संपादकहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘‘संसदीय विशेष छानबिन समितिले सहकारीमा रविजीलाई गोरखा मिडियासँग जोड्दै केही प्रश्न उठाएको छ । सरकारले कारबाही गर्छ भने हामी ‘डिस्टब’ गर्नेवाला छैनौँ । तर अनाहकमा नयाँ जन्मेका पार्टीलाई अपमानित वा तिरस्कार गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो ।’’
लामिछाने प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री थिए । छानबिनपूर्वको परिस्थिति उल्लेख गर्दै प्रचण्डले भने, ‘‘त्यतिखेर रविलाई मैले बचायो भन्ने टीकाटिप्पणी आयो । तर, त्यसो भएको होइन ।’’
आफूले उतिखेर सहकारी विषयमा छानबिनमा संलग्न सरकारी संयन्त्रसँग कुनै ‘कैफियत’ छ कि भनी सोधेको उल्लेख गर्दै प्रचण्डले भने, ‘‘तिनले हालसम्म कुनै कैफियत नभेटिएको बताएका थिए ।’’ प्रचण्डले संसदीय छानबिन समिति बन्नुपूर्व सरकारी संयन्त्रसँग बुझेको बताए ।
उनले संसदीय छानबिन समिति गठनविरुद्ध एमाले कठोर रूपमा उभिएको जानकारी दिए ।