आज : २०८१ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहरामा मनाइयो १५५औं विश्व अहिंसा तथा गान्धी दिवस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १६ गते


Advertisement

काठमाडौं, असोज १६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा विश्व अहिंसा दिवस तथा १५५औँ महात्मा गान्धी जयन्ती मनाइएको छ । नगरपालिकाको वडा नम्बर ९ मा रहेको गान्धी आदर्श माध्यमिक विद्यालयमा नगरपालिकासहित  गान्धी आदर्श माध्यमिक विद्यालय, नेपाल-भारत मानव विकास एवं मैत्री संघ र गान्धी ग्लोबल फेमिली नेपालले संयुक्त कार्यक्रमको आयोजना गरेका थिए ।

गान्धी आदर्श मावि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गया प्रसाद उपाध्यायको अध्यक्षता तथा मेयर उपेन्द्र कार्कीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमको विशिष्ट अतिथिमा नेपालस्थित भारतीय राजदूतावासका द्दित्तीय सचिव बशिष्ट नन्दन रहेका थिए । यस्तै अतिथिमा बरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, विद्यालयका प्रधानाध्यापक गणेश चन्द, गान्धी तुल्सी क्याम्पसका प्रमुख लेखराज पौडेल, नेपाल-भारत मानव विकास एवं मैत्री संघका अध्यक्ष सुर्य भुसाललगायत अतिथि रहेका थिए ।

कार्यक्रमको संयोजन नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति कबिर शर्माले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मेयर कार्कीले अहिंसा, सरलता र सत्यताका प्रतिक महात्मा गान्धीको आदर्शबारे नगरपालिकाका विद्यार्थीहरु माँझ लागु गर्ने बताए । गान्धीको आदर्श विद्यार्थीहरुमाझ कुनै न कुनै रुपमा पुर्याउनु पर्नेमा जोड दिँदै मेयर कार्कीले नगरपालिकाका सबै विद्यालयका विद्यार्थीहरुलाई महात्मा गान्धीको आदर्शबारे कुनै न कुनै रुपमा अभ्यस्त गर्ने प्रयास गरिहेको बताए । यस कार्यमा नगरपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको पनि उनको भनाई छ ।

भारतीय राजदूतावासका द्दित्तीय सचिव नन्दनले गान्धीको सिद्धान्त आज पनि सान्दर्भिक रहेको भन्दै सबैले पालन गर्नु पर्नेमा जोड दिए ।

यस्तै कार्यक्रमका अध्यक्ष उपाध्यायले विद्यालयमा महात्मा गान्धीको जीवन एवम् सिद्धान्तमा आधारित कुनै न कुनै क्रियाकलाप संचालन गर्ने र त्यसका लागि नगरपालिकाको दिने निर्देशन वा कार्यक्रम लागु गर्न विद्यालय ब्यबस्थापन समिति तत्पर रहेको बताए ।

आजै नेपाल चर्खा प्रचारक गान्धी स्मारक महागुठीले पनि नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाको प्रमुख आतिथ्यतामा बिशेष कार्यक्रमको आयोजना गरि गान्धी जयन्ती मनाएको छ ।

महात्मा गान्धीको नामबाट गान्धी आदर्श माध्यमिक विद्यालय सन्चालनमा रहेको छ । सो विद्यालय वि.सं २०१० सालमा स्थापना भएको हो ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००७ मा महात्मा गान्धीको जन्म दिनलाई विश्व अहिंसा दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरेपछि हरेक वर्ष अक्टोबर २ का दिन यो दिवस मनाइन्छ ।

अहिंसा दिवस मनाउनेसम्बन्धी १५ जून २००७ मा महासभाद्वारा पारित सङ्कल्प प्रस्तावमा ‘शिक्षाको माध्यमबाट जनतामा अहिंसाको व्यापक प्रचार गर्नुपर्छ । अहिंसाको सिद्धान्त सहिष्णुता तथा शान्तिको माध्यमबाट नै सुरक्षित गर्न सकिन्छ, भनिएको छ । महासभामा भारतद्वारा प्रस्तुत प्रस्तावलाई नेपाललगायत विश्वका १४० मुलुकले समर्थन गरेका थिए ।


प्रतिकृया दिनुहोस्