Hamro Sanchar

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ३० गते


Advertisement

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री शाहले प्रदेश सभा बैठकमा विश्वासको मत सम्बन्धि राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे।

शाहले प्रस्तुत गरेको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ३६ सांसदले मतदान गरे। विपक्षमा ८ सांसदले मतदान गर्दा स्वतन्त्र सांसद डा। ताराप्रसाद जोशी तटस्थ बसे।विश्वासको मत विभाजनमा ४५ सांसदले भाग लिएका थिए। सुदूरपश्चिममा ५३ सांसद छन्।

नेपाली कांग्रेस १८, नेकपा एमाले ११ र नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएका हुन्। शाहले दुई तिहाइ बहुमतको विश्वास मत पाएका छन्।

२० साउनमा नेकपा एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम कांग्रेस संसदीय दलका नेता समेत रहेका शाह मुख्यमन्त्री नियुक्त भएका थिए।

उनी सुदूरपश्चिम प्रदेशको नेतृत्वमा दोस्रो कार्यकालका लागि दोहोरिएका छन्। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यकता पर्छ।

सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रका १०, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र सांसद १र१ छन्।


प्रतिकृया दिनुहोस्