
सुनसरी — प्रहरीले ६ वर्षीया नाबालिका अपहरण कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । बालिकाको उद्धार गरिएको छ ।
सुनसरीको दुहवी नगरपालिकास्थित मामा घरको आँगनमा खेलिरहेकी बालिकालाई अपहरण गर्ने मोरङ विराटनगर महानगरपालिका ६ बस्ने ५० वर्षीय सञ्जय पासवान, कटहरी गाउँपालिका ६ घर भई विराटनगर १० बस्ने ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सुरुमा ती बालिकालाई सञ्जयले मंगलबार जबर्जस्ती उठाएर लगेको प्रहरीको दाबी छ । लगत्तै परिवारले खोजतलास गरी पाउँ भन्दै इलाका प्रहरी कार्यालय दुहवीमा निवेदन दिएका थिए ।
विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङरसुनसरी र इलाका प्रहरी कार्यालय दुहवीबाट संयुक्त रूपमा खटिएको प्रहरी अधिकृतको टोलीले बुधबार उद्धार गरेको हो ।
बालिकालाई विराटनगर १० स्थित कलानन्द र सरिताको डेरामा बन्धक बनाइराखेको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई सुनसरी जिल्ला अदालतबाट बिहीबार पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए


















