Hamro Sanchar

डुबेको छोरा बचाउन खोला पसेका शिक्षक : ‘छोरो बचाए, आफुले ज्यान गुमाए’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १९ गते


Advertisement

झापा, जेठ १९- पौडी खेल्ने क्रममा नाबालक छोरा आपतमा परेको देखेपछि उद्धार गर्न खोलामा पसेका झापाका एक शिक्षकको डुबेर मृत्यु भएको छ । नवज्योति माध्यमिक विद्यालय बाहुनडाँगीका लोकप्रिय शिक्षक धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेचीनगर नगरपालिका ३ बडाखालका ४० वर्षीय भण्डारी १२ वर्ष र ८ वर्षका दुईजना छोराहरू लिएर दोकान डाँडाचोक पश्चिम निन्दा खोला गएका थिए । पौडी खेलेर कान्छो छोरा खोलाको छेउमा बसिरहेका थिए । पौडी खेल्ने क्रममा अलिक गहिरोमा पुगेपछि जेठो छोरालाई पौडी खेल्न समस्या भएको थियो । छोरालाई समस्या परेको देखेपछि भण्डारी छोरालाई बचाउन खोलामा पसे । छोरालाई जसोतसो धकेलेर किनारमा पुर्‍याउन सफल भएपनि आफू भने जोगिन नसकेको स्थानीयको भनाइ छ ।

बुबा डुबेपछि छोराहरूले स्थानीयलाई खबर गरेका थिए । त्यस बेला सम्ममा उनी अचेल भइसकेका थिए । उद्धार गरेर स्थानीयले उनलाई बिएण्डसी अस्पताल बिर्तामोड पुर्‍याए पनि बचाउन नसकिएको स्थानीय बलभद्र आधारभूत विद्यालयका शिक्षक देबु बानियाँले बताए । अस्पताल पुर्‍याएको केही बेरमा नै चिकित्सकले शिक्षक भण्डारीलाई मृत घोषणा गरेका थिए ।

अत्यधिक गर्मी छल्न बिदाको दिन छोराहरूलाई पौडी खेलाउन र केही बेर घुमाउन घरबाट निस्कनु भएका शिक्षक भण्डारीको मृत्यु भएपछि गाउँ नै शोकमा परेको स्थानीयले बताएका छन् । स्थानीयबासीले मेचीनगर नगरपालिकाको लापरबाही तथा बेवास्ताको कारण शिक्षक भण्डारीको मृत्यु भएको आरोप लगाएका छन् । स्थानीयबासीका अनुसार मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि लगाएको ठेक्काका कारण सो स्थानमा गहिरो बनाइएको छ । मापदण्ड विपरीत उत्खनन गर्दा झन्डै चार किलोमिटर क्षेत्रमा करिब २० फिट गहिरो बनाइएको उनीहरूको भनाइ छ ।


प्रतिकृया दिनुहोस्