
काठमाडौं, जेठ १९- नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमै सम्पन्न गर्न वाम पक्षधर ६ संगठनले संयुक्त रुपमा माग गरेका छन् । महासंघको जेठ २६ गते तोकिएको निर्वाचनको मिति नजिकिँदै गर्दा सदस्यता र नामावली टुंगो लगाएर सावर्जनीक गर्न ढिलाई गरिएको भन्दै प्रेस चौतारी, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, जनपत्रकार संगठन नेपाल र क्रान्तिकारी प्रेस संगठनले शनिवार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै महासंघ नेतृत्वलाई छिटो सदस्यता टुंगो लगाई निर्वाचन गर्न दबाब दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन प्रयोजनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकोमा हालसम्म पनि निर्वाचन समितिलाई आधिकारिक सूची उपलब्ध नगराइएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
उनीहरुले महासंघका अद्यावधिक सदस्यहरुको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र उक्त नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रक्रिया बमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण बनाउन माग गरेका छन् ।
मतदाता नामावलीमा त्रुटि सच्याउन तथा छुटेका पत्रकारहरूको नाम समेट्नुपर्ने माग गर्दै समाजवादी प्रेस सङ्गठन र प्रेस युनियनसँग आबद्ध पत्रकारहरूले महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिरहेका छन् ।
महासङ्घको नयाँ नेतृत्वका लागि जेठ २६ गते निर्वाचन हुँदैछ ।
विज्ञप्तिको पूर्ण पाठ:
मितिः २०८१ जेठ १९ गते
संयुक्त प्रेस वक्तव्य
नेपाल पत्रकार महासंघको काठमाडौंमा २०८१ वैशाख २१ र २२ गते सम्पन्न २७औं केन्द्रीय महाधिवेशनले २०८१ जेठ २६ गते केन्द्र, प्रदेश, शाखा, प्रतिष्ठान र एशोशियटको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने घोषणा गरी केन्द्रीय निर्वाचन समिति समेत गठन गरेको सर्वविदितै छ । निर्वाचन प्रयोजनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकोमा हालसम्म पनि निर्वाचन समितिलाई आधिकारिक सूची उपलब्ध नगराइएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
सदस्यहरूको अद्यावधिक नामावलीको सूची नबुझाइएकै कारण हालसम्म पनि निर्वाचन कार्यतालिका प्रकाशित हुन सकेको छैन । हामी देहायका संगठनहरू नेपाल पत्रकार महासंघको निर्वाचनलाई तोकिएको मितिमा निर्वाध रूपमा सम्पन्न गर्न केन्द्रीय नेतृत्वबाटै अवरोध भइरहेकोमा खेद व्यक्त गर्दै यस सन्दर्भमा देहाय बमोजिमको साझा धारणा सार्वजनिक गर्दछौंः
१। नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनबाट तोकिएको मिति २०८१ जेठ २६ गते केन्द्र, प्रदेश, शाखा, प्रतिष्ठान र एशोशियटको निर्वाचन सम्पन्न गर्न तत्काल आवश्यक वातावरण बनाइयोस् ।
२। नेपाल पत्रकार महासंघका अद्यावधिक सदस्यहरुको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र उक्त नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रक्रिया बमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण मिलाइयोस् ।
३। नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित कार्य समितिको विधान बमोजिम तीन बर्षे कार्यअवधि २०८० चैत्रमा सकिइसकेपछि पनि नयाँ नेतृत्व चयन गरी पदभार हस्तान्तरण गर्नुपर्ने स्वभाविक, लोकतान्त्रिक र वैधानिक प्रक्रिया पूरा हुन सकेको छैन । यसलाई कुनै पनि बहानामा अवरूद्ध गर्ने कार्य नगर्न केन्द्रीय नेतृत्वलाई गम्भीर ध्यानाकर्षण गराउँदछौं ।
४। नेपाल पत्रकार महासंघको गौरवपूर्ण इतिहास, साझा चरित्र र गौरवलाई रक्षा गर्दै पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र पत्रकारिताका मुद्दाहरूलाई सम्बोधन गर्न सहकार्य गर्दै अघि बढ्ने प्रण गर्दछौं ।
हस्ताक्षरकर्ताहरु :
१. गणेश बस्नेत, अध्यक्ष, प्रेस चौतारी नेपाल
२. विष्णु सापकोटा ‘जुगल’, अध्यक्ष, प्रेस सेन्टर नेपाल
३. विश्वमणि सुवेदी, अध्यक्ष, समाजवादी प्रेस संगठन नेपाल
४. श्यामलाल पोखरेल, अध्यक्ष, प्रगतिशील पत्रकार संघ नेपाल
५. शेरबहादुर विश्वकर्मा, अध्यक्ष, जनपत्रकार संगठन, नेपाल
६. कमल बुढा, संयोजक, क्रान्तिकारी प्रेस संगठन


















