
सुर्खेत, जेठ १७- सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना परी मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतकाअनुसार मृत्यु हुनेमा ३ जना कालिकोट शुभकालिका-३ का रहेका छन् भने एकजना दैलेख भैरवि गापा-४ का रहेका प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा कालिकोट शुभकालिका-३ का तन्त बिक, नमराज बिक र बिरेन्द्र बिक रहेका छन् । त्यस्तै भैरवि गापा-४ का महेन्द्र शाही रहेका छन् ।
दुई जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको छ । घाइतेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका-३ का अन्दाजी २८/२९ वर्षका नरी कामी र खाडाच्कर नगरपालिका-९ पाखाका नरेन्द्र विष्ट छन् ।
उनीहरूको विरेन्द्रनगरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको हो ।
प्रहरीका अनुसार जिप सडकबाट ४ सय मिटर तल खसेको छ । जिप बिहीबार बिहान दुई बजेतिर दुर्घटना भएको भएपनि ढिलो गरी मात्रै थाह भएकाले यतिबेला प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ ।
जिपमा ८ जना सवार रहेको अनुमान गरिएको छ ।