काठमाडौं, जेठ १६- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानतमा छ्टने भएका छन् । सिरोहियालाई धनुषा प्रहरीले हाजिर जमानतमा छोड्ने भएको हो ।
सरकारी वकिल कार्यालय स्रोतका अनुसार फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ बमोजिम परिवारका सदस्यको जमानतमा छोड्नका लागिएको हो ।
‘उहाँलाई फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ अनुसार अनुसन्धानका लागि हिरासतमा राख्न नपर्ने भन्दै छोड्न लागिएको छ । त्यसका लागि कागज बनाइदै छ,’ स्रोतले भन्यो ।
उक्त संहिताको दफा १५ मा भनिएको छ- अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारण सहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौट की जमानत लिई वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख सक्नेछ ।
सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जाहेरी परेको थियो ।