Hamro Sanchar

चितवन दुर्घटना : ट्रक चालकको उपचारका क्रममा मृत्यु, ४ जनाको अवस्था गम्भीर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १४ गते


चितवन, जेठ १४- चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा घाइते भएका थप एक जना युवकको उपचारको क्रममा मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ ।

ना ३ ख ७९१५ नं. को ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदीको उपचारका क्रममा चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि अन्दाजी १६/१७ वर्षका किशोरको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन ।

दुर्घटनामा २१ जना घाइते भएका छन् ।  घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर छ । १३ जनाको मध्यम र ३ जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलोमा गएराति राति १२ः३० बजेको समयमा तीन वटा यात्रुबहाक बस र २ वटा ट्रक आपसमा ठोक्किएका हुन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुबहाक बससंग विपरित दिशाबाट जाँदै गरेको बा ३ ख ७९१५ नम्बरको मालबहाक ट्रक ठक्कर खाएको र उक्त ट्रकको पछाडी ना ६ ख ८९६८ नम्बरको बस र सो बसलाई ना ३ ख ५९३६ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो ।

त्यस्तै मुग्लिनबाट आउँदै गरेको यात्रुबहाक बसलाई सोही दिशाबाट आउँदै गरेको ना ४ ख ३२४८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीको टोली दुर्घटना स्थल पुगेका थिए ।


प्रतिकृया दिनुहोस्