
काठमाडौं, जेठ १२- काठमाडौं महानगरले सडक विभागअन्तर्गतको सडक सुपेरीवेक्षण तथा अनुगमन कार्यालयको गेटमा एक ट्रक धुलो खनाइदिएको छ । १५ वर्षदेखि कलङ्कीबाट महाराजगञ्जको सडक अलपत्र पारेको भन्दै एक ट्रक धुलो खन्याइदिएको मेयर बालेन्द्र शाहले बताएका छन् ।
उनले काम अघि नबढाएसम्म हरेक दिन एक ट्रक धुलो विभागको कार्यालयमा खन्याइदिने र उपहारको रुपमा यसलाई स्वीकार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई आग्रह पनि गरेका छन् ।
मेयर बालेन्द्र शाहले लेखेका छन्, ‘माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु,
तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाण्डौका नागरिकले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाण्डौमा हुने आधाभन्दा बढी प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाण्डौ महानगरले अकारणमा गाली खानु परेको छ ।
यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नु होला ।’






























