
काठमाडौं, जेठ १२- पौडी खेल्ने क्रममा डुबेर नुवाकोटमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ककनी गाँउपालिका वडा नं ४ बस्ने १८ वर्षीय हिमाल तामाङ र बेलकोटगढी नगरपालिका वडा नं १३ बस्ने १९ वर्षीय रोजन तामाङ छन् ।
शनिबार दिउँसो १ बजेतिर बेलकोटगढी नगरपालिका वडा नम्बर १० तादीखोलास्थित घुमाउने दहमा पौडी खेल्न गएका उनीहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
६/७ जना मिलेर पौडी खेल्न गएकामा दुई जना डुबेर बेपत्ता भएका थिए । शनिबार करिब २ बजेतिर पौडी खेल्नेक्रममा डुबेर बेपत्ता भएका उनीहरुलाई उद्धार गरी प्रहरीले त्रिशुली अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याउन बित्तिकै चिकित्सकले दुई जनालाई मृत घोषणा गरेको हो ।














