Hamro Sanchar

गृहमन्त्रीलाई उन्मुक्ति दिन सकिँदैन : कांग्रेस नेता कोइराला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १० गते


Advertisement

काठमाडौँ, जेठ १०- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको दुइटा पासपोर्टबारे कसैले आवाज नउठाएको बताएका छन् ।

‘गृहमन्त्री रवि लामिछानेको दुइटा पासपोर्ट हुँदाखेरि र संसद्का महासचिवको दुइटा पासपोर्ट हुँदा तपाईँहरू केही लेखिरहनुभएको छैन,’ विराटनगरमा बिहीबार भएको नेपाल प्रेस युनियनको कार्यक्रममा कोइरालाले प्रश्न गरे, ‘देशमा कानुन छ । तर उहाँहरूलाई केही हुँदैन । त्यो कानुन के गृहमन्त्रीलाई र संसद् महासचिवलाई लाग्दैन ?’

नेता कोइरालाले गृहमन्त्री लामिछानेमाथि सहकारीको बचत अपचलनको आरोप लागेको पनि बताए ।

‘गृहमन्त्री भएका नाताले सहकारी ठगीबाट उहाँलाई उन्मुक्ति दिने ? यो हुन सक्दैन । सहकारी ठगीमा उहाँ संलग्न हुनुहुन्छ र उहाँ उन्मुक्ति पाउन सक्नुहुन्न भन्ने कांग्रेसको ठहर छ । जसले बचाउन खोज्छ त्यो पार्टी वा व्यक्ति उजागर भएर जान्छ, यो गम्भीर विषय छ’, उनले भने ।

गृहमन्त्री लामिछानेले आफू सहकारीमा संलग्न नरहेको बताइरहेको उल्लेख गर्दै उनले रविलाई गृह मन्त्रालय छाडेर अर्को मन्त्रालयमा जान प्रस्ताव गरे ।

‘प्रहरीलाई अनुसन्धान गर्न दिनुस् । हामीले तपाईंको राजीनामा पनि मागेको छैन’, कोइरालाले भने ।

गृहमन्त्री लामिछानेले मिडियालाई तर्साउन खोजेको भन्दै कांग्रेस नेता कोइरालाले देश बिस्तारै निरंकुशता र अधिनायकवादतर्फ जान खोजेको देखिएको टिप्पणी गरे ।

अहिले ट्रेलरका रूपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले पक्राउ गरेको तर्क गर्दै कोइरालाले सिरोहियाले नागरिकताका सन्दर्भमा कुनै गलत भएको पाइएमा दण्ड पाउनुपर्ने बताए ।

‘व्यक्ति सिरोहिया केही पनि होइन । कान्तिपुरलाई जसरी आक्रमण गरेको छ त्यो घटनापछि म मिडियाहरू नजिकबाट फलो गरिरहेको छु । कहाँ के भइरहेको छ र कसले के भनिरहेको छ भनेर,’ डा. कोइरालाले भने।


प्रतिकृया दिनुहोस्