Skip
आज : २०८२ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मेयर कार्की र नगरपालिकाको नाम सगरमाथाको चुचुरोमा

सुदिप बर्देवा प्रकाशित : २०८१ जेठ, ९ गते


काठमाडौं, जेठ ९- काठमाडौंको कागेश्वरी मनोहरा नगरापालिकाका मेयर उपेन्द्र कार्कीको तस्वीर विश्वोको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्याइएको छ ।

सगरमाथा आरोही कलाकार छिरिङ शेर्पाले उनको तस्वीर र कागेश्वरी मनोहरा नगरपालिका लेखिएको फ्लेक्सलाई सगरमाथाको चुचुरोमा पुर्याएकी हुन् । मोडल तथा कलाकार शेर्पाले आइतबार सगरमाथाको चुचुरोमा पुगी त्यहाँ आफ्नो आगामी चलचित्र ‘टासिदेलेक’को पहिलो पोष्टरसहित विभिन्न सङ्घसंस्थाका झण्डा पनि फहराएकी थिइन् ।

आफ्नो तस्वीर र नगरपालिकाको नामलाई सगरमाथाको चुचुरोमा पुर्याएपछि मेयर कार्कीले उनलाई बधाई तथा शुभकामना दिएका छन् ।

उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, “हार्दिक बधाई तथा शुभकामना नानि ! सर्वोच्च शिखर सगरमाथा आरोहणलाई प्रतिस्पर्धात्मक नभई सन्देशात्मका लागि किर्तिमानको लागि नभई आरोहणमा कटिवद्ध व्यक्तित्वहरुको स–सम्मान तथा आरोहणमा जिवन त्याग गर्ने सम्पुर्ण बलिदान प्रति भावपूर्ण श्रद्धासुमन अर्पणका लागि सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएकोमा मेरो भाई धर्म थिङ लामाको धर्म पत्नी मेरो प्यारो बुहारी छिरिङ शेर्पालाई कागेश्वरी मनोहरा नगरपालिका परिवार र मेरो ब्यत्तिगत तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्द्छु साथै हजुरले जुन सोच र संकल्पले आरोहण गर्नु भएको हो यसमा राज्य र देशले हजुरको मागलाई समयमा नै उचित प्रतिबद्धता जाहेर गरि कार्यान्वयन गरोस भनि कामना गर्द्छु।”

मेयर कार्कीले आफ्नो तस्वीर र कागेश्वरी मनोहरा नगरपालिका लेखिएको फ्लेक्सलाई सगरमाथाको चुचुरोमा पुर्याएको बिषय शांकेतिक भएको प्रतिक्रिया हाम्रोसंचारलाई दिए । उनले भने, “आफ्नो कार्यकालमा यो नगरपालिकालाई सबै किसिमले उचाइमा पुर्याउन चाहेको अर्थको रुपमा लिएको छु । सोहि अनुसार नै म निर्वाचित भएर यो नगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हालेकै दिन देखि दृढताका साथ लागिरहेको छु।”

सगरमाथाको सफल आरोहणपछि शेर्पाले जलवायु परिवर्तनबाट हिमाली भू–भागमा परेको असरलाई न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्ने बताइन् । सामाजिक सञ्जालमार्फत आरोहणको सन्देश दिँदै शेर्पाले राज्यले सगरमाथाको आरोहणबाट प्राप्त गरेको आम्दानीको केही हिस्सा हिमाली भेगको विकासका क्षेत्रमा लगाउनुपर्नेमा जोड दिइन् ।

सो सन्देशमा उनले शेर्पा समुदायलाई हिमाल आरोहीका रुपमा मात्र व्याख्या नगरी उनीहरुलाई राज्यका हरेक संयन्त्रमा जोडिन सक्ने वातावरण सिर्जना गर्न पनि माग गरिन्। शेर्पाले यसै पनि भौगोलिकरुपमा विकट मानिएको हिमाली क्षेत्रलाई राज्यले विशेष प्राथमिकतामा राखेर योजना बनाइनुपर्ने भन्दै हिमाल आरोहीलाई तत्काल आधुनिक सूचना प्राप्त गर्नसक्ने संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

सन्देशमा कलाकार शेर्पाले हिमाली क्षेत्रको भाषा, कला, संस्कृति, रीतिरिवाज र चाडपर्वलाई जगेर्ना गरी राष्ट्रियस्तरमा यसको प्रवर्द्धन गर्नुपर्ने तथा सगरमाथा आरोहणमा देखिएका चुनौती र चापलाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्नुपर्ने उल्लेख गरिन् ।


प्रतिकृया दिनुहोस्