Hamro Sanchar

‘कोठाभाडा तिर्न नसक्दा ट्याक्सीमा रात कटाउँदै थिए, थलीमा आएर आत्महत्या गरे’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ९ गते


काठमाडौं, जेठ ९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा मृतावस्थामा भेटिएका ५४ वर्षका कृष्ण नगरकोटीले आर्थिक अवस्था कमजोर भएका कारण कोठाभाडा समेत तिर्न नसक्दा आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार छालिङ–७ भक्तपुरका नगरकोटी ट्याक्सी चलाउथे । ट्याक्सी चलाउँदा पनि आम्दानी नहुँदा परिवारको खर्च धान्नै मुस्किल थियो । उनले १५ वर्षदेखि टयाक्सी चलाउँदै आएका थिए । श्रीमतीले छोडेपछि नगरकोटी छोरा रिचेन र छोरी रश्मीसँग काठमाडौंको रविभवन, गणेशथानमा कोठा भाडामा बस्दै आएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले प्रारम्भिक अनुसन्धानमा आर्थिक अवस्थाकै कारण नगरकोटीले आत्महत्या गरेको खुलेको जानकारी दिए । नगरकोटीको हिजो विहान शव फेला परेको थियो ।

कृष्णका छोरा रिचेनले जेठ ७ गते चोभार चाल्नाखेलमा ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास गर्दै गर्दा प्रहरीले उद्धार गरेको जनाइएको छ । प्रहरीका अनुसार कागेश्वरी-५ स्थित मिलनचोक ओरालोमा बन्दै गरेको सडकको पर्खाल नजिक कृष्णको शव आज बिहान फेला परेको थियो ।

पछिल्लो तीन महिनायता कोठाभाडा तिर्न नसक्दा तीनै जनाले ट्याक्सीमा रात कटाउँदै आएका र रिचेन र रश्मीको मानसिक अवस्था पनि सामान्य नदेखिएको प्रहरीले जनाएको छ । जेठ ७ गते बिहान १० बजे सेतोपुल नजिक ट्याक्सी बिग्रिएकाले मिस्त्री बोलाएर ल्याउँछु भन्दै कृष्णले २८ वर्षीया छोरी रश्मिलाई त्यही छोडी छोरा रिचेनलाई साथमा लिएर गएका थिए ।


प्रतिकृया दिनुहोस्