Hamro Sanchar

प्रधानमन्त्रीसँगको छलफलपछि कांग्रेसले भन्यो, ‘समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ५ गते


Advertisement

काठमाडौँ, जेठ ५- सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको नेपाली कांग्रेसले जानकारी दिएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री र प्रतिपक्षी दलको छलफलपछि कांग्रेस नेता रमेश लेखकले सो कुरा जानकारी दिएका हुन् । ‘प्रधानमन्त्री छानबिन समिति बनाउनका लागि सकारात्मक हुनुहुन्छ । राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको पनि चाहना रहेको छ ।’ छलफलमा सहभागी एक नेताले भने ।

बैठक करिब आधा घण्टा मात्र बसेको थियो । बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा र रमेश लेखक सहभागी थिए । त्यस्तै, माओवादीबाट जर्नादन शर्मा पनि आजको छलफलमा उपस्थित थिए ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्ने विषयले चर्को रुप लिएपछि कांग्रेसले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको हो ।

छानबिन समिति गठन हुननसक्दा संसद सञ्चालन हुन सकेको छैन । सोही विषयमा बिहीबार संसदमा धकेलाधकेलसमेत भएको थियो ।


प्रतिकृया दिनुहोस्