काठमाडौँ, वैशाख ३०– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति बनाउन कडा रुपमा प्रस्तुत हुन थालेको छ । लगातार संसद अवरुद्ध गर्दै आइरहेको कांग्रेसले सत्तारुढ दलहरूलाई सोमबार दिउँसो २ बजेसम्म सहकारी ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनबारे निर्णय लिन समय दिएको छ ।
कांग्रेसका प्रमुख कांग्रेस सचेतक रमेश लेखकले सोमबार दिउँसो २ बजेसम्म छानबिन समिति गठनको निर्णय लिन सत्तारुढ दलहरुलाई आग्रह गरेका हुन् । आइतबार सभामुख देवराज घिमिरेले ठूला पाँच दलका प्रमुख सचेतकहरूलाई संसद्को गतिरोध खुलाउने विषयमा छलफल गर्न बोलाएका थिए ।
जेठ १ गते दिउँसो ३ बजे दुवै सदनको संयुक्त बैठक राखिएको छ ।
उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।राष्ट्रपतिले सम्बोधन गर्ने बैठकमा समेत अवरोध गर्ने कतिपय कांग्रेस नेताहरूले चेतावनी दिएका छन् ।