काठमाडौं, वैशाख २२- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले दुई महिनामा डेढकरोड भन्दा बढी कर संकलन गरेको छ । नगरपालिकाको आन्तरिक कर संकलन अभियान अन्तर्गत, दुई महिनामा १ करोड ५३ लाख ५९ हजार ९७ रुपैया ८४ पैसा संकलन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शागर मिश्रले हाम्रोसंचारलाई जानकारी दिए ।
पहिलो चरणको कर संकलन अभियान अन्तर्गत २०८० साल फागुन ९ गते देखि वडा नम्बर ९, ८, ७, ६ र ५ मा यो अभियान संचालन भएको हो । वडा नम्बर ९ मा २०८० साल फागुन ९ गते देखि, वडा नम्बर ८ मा फागुन २९, वडा नम्बर ७ मा फागुन १९, वडा नम्बर ६ मा चैत ५ र वडा नम्बर ५ मा चैत १४ गते देखि संचालन भईरहेको छ ।
यस क्रममा, वडा नम्बर ९ ले सबै भन्दा बढी कर संकलन गर्न सफल भएको नगरपालिकाका राजश्व शाखा प्रमुख जितेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार वडा नम्बर ९ मा नयाँ व्यवसाय दर्ता, नवीकरण र एकीकृत सम्पति कर गरि तीन शीर्षक बाट ४६ लाख २६ हजार ५ सय ८० रुपैया कर संकलन भएको छ । यस क्रममा १५१ वटा नयाँ व्यवसाय दर्ता भएका छन् भने ५८ वटा व्यवसाय नवीकरण भएका छन् ।
यस्तै, वडा नम्बर ८ ले २६ लाख ८ हजार २ सय ८८ रुपैया कर संकलन गरेको छ । २५७ वटा नयाँ व्यवसाय दर्ता भएका छन् भने ३५ वटा व्यवसाय नवीकरण भएका छन् । वडा नब्मर ७ ले ३१ लाख ३१ हजार ६ सय ७ रुपैया कर संकलन गरेको छ । नयाँ व्यवसाय २५७ वटा भएका छन् भने ५७ वटा नवीकरण भएका छन् ।
वडा नम्बर ६ ले ४२ लाख ४६ हजार ३ सय ७२ रुपैया १९ पैसा कर संकलन गरेको छ । २४७ वटा नयाँ व्यवसाय दर्ता भएका छन् भने, ६४ वटा नवीकरण भएका छन् । यस्तै, वडा नम्बर ५ ले ७ लाख ४६ हजार २ सय ५० रुपैया कर संकलन गरेको छ । नयाँ व्यवसाय ८८ वटा दर्ता भएका छन् भने २४ वटा व्यवसाय नवीकरण भएका छन् ।
दोश्रो चरणको कर संकलन अभियान अन्तर्गत वडा नम्बर १,२,३ र ४ मा केहि दिन पछि यो अभियान संचालन हुने शाखा प्रमुख गिरीको भनाई छ ।