Skip

Hamro Sanchar

खाना पकाउने ग्यास विस्फोट हुँदा टोलमा फैलियो आगो, ७५ घर जलेर नष्ट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २१ गते


जनकपुरधाम, वैशाख २१- खाना पकाउने ग्यास विस्फोट भएर टोलमा आगो फैलिदा ७५ वटा घर जलेका छन् । सर्लाहीको विष्णु गाउँपालिका– १, स्थित बाराउद्योरण गाउँमा स्थानीय शत्रुघन राउतको घरमा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा टोलमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालस सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।

उनका अनुसार फुसको घरबाट सल्किएको आगो एकपछि अर्को घर हुँदै सिंगो गाउँमै फैलिएको थियो । आगोमा झुल्सिएका कयौँ घरहरूमा पनि लगातार ग्यास सिलिन्डर बिस्फोट भएको थियो ।

आगलागीमा परेका घरहरुमा अन्नपात, लत्ताकपडा, भाँडावर्तन, कागजात, पैसा लगायतका सामग्री नष्ट भएको छ ।

ती घरहरुमा भएको क्षतिको विवरण अहिले संकलन भइरहको छ । समयमा आगो निभाउन दमकल नपुगेका कारण बढी क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको विष्णु गाउँपालिकामा दमकल छैन । हरिवन र मलंगवा नगरपालिकामा मात्रै दमकल छन् ।


प्रतिकृया दिनुहोस्