
पर्वत, बैशाख २०- पर्वतको जलजला गाउँपालिका २ मल्लाजकाे दह दम्पती हत्या घटनाका आराेपीलाई प्रहरीले सार्वजनिक गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले विहिबार पत्रकार सम्मेलन गरि घटनामा संलग्नलाई सार्वजनिक गरेकाे हाे । प्रहरीले एक महिनाकाे लामाे अनुसन्धान पछि हत्यामा संलग्न दुई युवालाई मंगलबार पक्राउ गरेकाे थियाे ।
गत चैत १९ गते राति ६९ वर्षिय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षिया गमला जिसीकाे घर भित्रै बीभत्स हत्या भएको थियाे ।
प्रहरीले जलजला २ मल्लाजका कृष्ण बिक र दिपक परियारलाई पक्राउ गरेकाे प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । उनका अनुसार आराेपीले हत्या स्विकार गरेका छन् । पक्राउ परेकालाई अदालतबाट म्याद थपेर थप अनुसन्धान गरिने प्रहरीकाे भनाई छ ।
घटनाकाे जिल्ला प्रहरी कार्यालय पर्वत, म्याग्दी र प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो( सिआईबी) ले अनुसन्धान गरेको थियो ।
गत चैत १९ गते राति सूर्यबहादुर खाटमै मृत भेटिएका थिए भने श्रीमती कमला भने भुईंमा घोप्टो अवस्थामा मृत भेटिएकी थिइन् ।


















