Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कतारबाट फर्किँदा सुन बोक्ने भरिया बनाए, अर्कैका हातमा गएपछि एयरपोर्टबाटै अपहरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १९ गते


Advertisement

काठमाडौं, बैशाख १९- सप्तरीको राजविराजका २६ वर्षीय सितेन्द्र यादव कतारमा झण्डै दुई वर्ष काम गरेर सोमबार घर फर्किँदै थिए । कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा उनको मनसुर अली नामक व्यक्तिसँग भेट भयो । अलीले आफ्नो २५ ग्राम सुन नेपाल लगिदिए केही पैसा दिने बताए । यही सेटिङमा नेपालमा सुन आउँने गर्दछ । २५ ग्राम सुन लैजानु अवैधानिक पनि थिएन । त्यसैले घर फर्किँदा सुन बोकिदिएवापत केही रकम आउँछ भने किन नल्याउने भन्ने उनलाई लाग्यो । ‘त्यसपछि मनसुरले भनेअनुसार मोबाइल नम्बर टिपेर सुन बोकेर आएको थिएँ’, सितेन्द्र भन्छन्, ‘काठमाडौं ओर्लिनेबित्तिकै फोन पनि गरेको थिएँ ।’

उनको भनाइमा, स्कुटरमा आएका एक व्यक्तिले त्यो सुन लगेका थिए । तर, मनसुरका भतिज अजिम अली र उनका साथी एमडी सनी अलाहीका अनुसार, उनीहरुले सुन नै पाएनन् । सुन नपाएपछि सितेन्द्रलाई कब्जामा लिएर उनीहरुले अजिमको सिनामंगलस्थित डेरामा लगे । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार अर्कैले सुन लगेको खुलेपछि अली र अलाहीले सितेन्द्रलाई बन्धक बनाएर मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

‘कुटपिट गरेर उनले राजविराजस्थित घरमा फोन गरेर ४ लाख ८० हजार रुपैयाँ पनि माग गरेछन्’, भट्टराईले भने, ‘सोमबारकै घटना भएपनि प्रहरीसम्म मंगलबार मात्र खबर आइपुग्यो, लगत्तै प्राविधिक पक्षको विश्लेषण समेत गरेर अनुसन्धान थालेका थियौं । भट्टराईका अनुसार, कार्यालयबाट डीएसपी अनिल घिमिरे नेतृत्वमा खटिएको टोलीले प्राविधिक जाँचबाट उनीहरु सिनामंगल क्षेत्रमा बसेको हुनसक्ने फेला पारेको थियो ।

स्रोतका अनुसार, उनीहरुले सितेन्द्रका परिवारका सदस्यलाई उक्त सुनको मूल्यबापतको पैसा दिनू भन्दै बैंक खाताको विवरण समेत पठाएका थिए । त्यसपछि प्रहरी अलीको सिनामंगलस्थित कोठामा पुगेको थियो । कोठाबाट उद्दार गर्दा उनलाई बाँधेर कुटपिट गरेर घाइते बनाएको भेटिएको थियो । प्रहरीले अली र अलाही दुबै जनालाई पक्राउ गरेको छ । त्यसक्रममा उनीहरुले आफूहरुको सुन गायब बनाएकाले पैसा फिर्ता माग्न सितेन्द्रलाई कब्जामा लिएको दाबी गरेका थिए ।

सितेन्द्रले भने उनीहरुले भनेअनुसारकै नम्बरमा फोन गरेर सुन बुझाएको बताउँछन् । ‘सुन कहाँ गयो, कसले लग्यो भन्ने विषयमा छुट्टै अनुसन्धान गरिरहेका छौं’, एसएसपी भट्टराई भन्छन्, ‘२५ ग्राम सुन ल्याउन मिल्ने भएपनि यो गिरोहले विभिन्न व्यक्तिलाई प्रयोग गरेर ल्याएको सुन काठमाडौंमा संकलन गर्ने गरेको जस्तो देखिन्छ । अपहरण तथा शरीर बन्धकको कसूरमा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको उनले बताएका छन् । अनुसन्धानमा संलग्न एक अधिकृत भने विमानस्थलको सीसी टीभी फुटेज हेरेर सुन लैजाने व्यक्तिबारे अनुसन्धान भइरहेको बताउँछन् ।’

‘एक जना व्यक्तिलाई सुन दिएको जस्तो देखिन्छ, ती व्यक्तिबारे अनुसन्धान जारी छ’, ती अधिकृतले भने । पछिल्लो समय सुन तस्करीमा संलग्न गिरोहले वैदेशिक रोजगारीबाट स्वदेश फर्किने युवालाई प्रयोग गरेर वैधानिक रुपमा ल्याउन पाउने २५ ग्राम सुन ल्याएर काठमाडौंमा संकलन गर्ने गरेको देखिएको छ । यस्तोमा कतिपयले बीचमै सुन लुटिदिने गरेको घटना सार्वजनिक हुने गरेका छन् ।


प्रतिकृया दिनुहोस्