Skip
आज : २०८२ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुन-चाँदीको भाउ बढेको बढ्यै, थप बढ्न सक्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २ गते


काठमाडौं, बैशाख २- विश्व बजारसँगै नेपालमा पनि सुन र चाँदीको भाउ निरन्तर वृद्धि भएर नयाँ रेकर्ड राख्ने क्रम जारी छ । यो हप्ता मात्रै सुनको भाउ प्रतितोला तीन हजार चार सय रुपैयाँ महँगिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजार खुलेपछि सुनको मूल्य दुई हजार तीन सय ५० डलर प्रतिऔँस कायम भइसकेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सुनको मूल्य दुई हजार चार सय प्रतिऔँस पुग्ने अनुमान गरिरहेका छन् । यससँगै नेपाली बजारमा सुनको मूल्य थप बढ्न सक्ने देखिएको छ ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले ब्याजदर घटाउने हल्ला चलेसँगै सुनको भाउ बढ्न थालेको सुन–चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । उनले भने, ‘सुनको भाउ बढ्ने ट्रेन्ड देखिएको छ । यसपालि फेडले ब्याजदर घटाउने हल्लाले बढ्ने क्रममा छ । यसले लगानीकर्ता त्रसित छन् । त्यसैले सुनमा लगानी बढाएका छन् । आगामी जुनमा ब्याजदर घटाउने हल्ला छ ।’ रुस र युक्रेनबीच बढ्दो तनावले पनि लगानीकर्ताले सुनमा लगानी बढाइरहेको उनको बुझाइ छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार संयुक्त राज्य अमेरिकाले डलरको आपूर्ति बढाइरहेकाले संसारभरका केन्द्रीय बैंकहरू सुनको सञ्चिति बढाउन तल्लीन छन् । पछिल्लो चार महिनामा संसारभरका केन्द्रीय बैंकहरूले १९ टन सुन सञ्चिति बढाइसकेका छन् । खासगरी सुनको बढी माग हुने देश भारत र चीनले सञ्चिति बढाउँदै गएकाले सुनको माग वृद्धि भई मूल्यसमेत बढेको उनको भनाइ छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ एक लाख ३९ हजार रुपैयाँ पुगेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला मूल्य एक लाख ३५ हजार ६ सय रुपैयाँ थियो । प्रतितोला सोमबार एक लाख ३६ हजार दुई सय, मंगलबार एक लाख ३६ हजार तीन सय, बुधबार एक लाख ३६ हजार आठ सय पुगेको सुनको भाउ बिहीबार भने दुई सय रुपैयाँ घटेर एक लाख ३६ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो । सुनको मूल्यमा एकै दिन दुई हजार चार सय रुपैयाँ वृद्धि भएर शुक्रबार भने प्रतितोला एक लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

विश्व बजारमा सुन–चाँदीको भाउ बढिरहेकाले नेपालमा पनि असर परेको महासंघले जनाएको छ । ‘नयाँपत्रिका दैनिकमा खबर छ ।


प्रतिकृया दिनुहोस्