Hamro Sanchar

अर्थमन्त्री पुनद्वारा वीरगञ्ज भन्सारको निरीक्षण, राजश्व चुहावट नियन्त्रण गर्न सम्बन्धित अधिकारीलाई निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २५ गते


Advertisement

वीरगन्ज , चैत २५- अर्थमन्त्री वर्षमान पुन अनन्तले वीरगन्ज भन्सार कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।

पुन अर्थमन्त्री नियुक्त भएको एक महिनापछि भन्सारको निरीक्षण गरेका हुन् । निरीक्षणपछि भन्सार कार्यालयमा मन्त्री पुनले राजश्व चुहावट नियन्त्रण समितिको बैठक राखेका थिए ।

बैठकमा मन्त्री पुनले चोरी पैठारी नियन्त्रण गरी राजश्व चुहावट नियन्त्रण गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए । चौरी पैठारी नियन्त्रण गर्दा राम्रा र वैध बाटोबाट काम गर्ने व्यवसायीलाई फाइदा पुग्ने र खराब प्रवृत्तिकाहरु दण्डित हुने उनको भनाइ थियो ।

चालु आर्थिक वर्षको ८ महिना सकिनै लाग्दा राजश्व संकलनको अवस्था उत्साहजनक नरहेको भन्दै उनले सम्बन्धित प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गर्न र स्थानीयलाई विश्वासमा लिन कर्मचारीलाई निर्देशन दिए ।

सीमा क्षेत्रमा चोरी पैठारी रोक्न भन्सार कर्मचारी, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधि मिलेर सीमा क्षेत्रका सर्वसाधारणलाई रोजगारी दिने र जनचेतना अभिवृद्धि गर्न सकिने विकल्प मन्त्री पुनले सुझाए ।

चोरी पैठारीबाट राज्यलाई राजश्व संकलनमा नोक्सान हुने मात्र नभई त्यसबाट प्राप्त हुने इजी मनीले समाजमा अपराधलाई प्रोत्साहित गर्ने भएकाले आर्थिक र सामाजिक क्षति घटाउन जसरी पनि चोरी पैठारी नियन्त्रण गर्नै पर्नेमा मन्त्री पुनले जोड दिए ।

चुहावट नियन्त्रण समितिको बैठकपछि मन्त्री पुनले वीरगन्ज भन्सार कार्यालय, भन्सार कार्यालय गौर, आन्तरिक राजश्व कार्यालय समिरा र वीरगन्ज तथा वीरगन्ज सुख्खा बन्दरगाहका कार्यालयका कर्मचारीलाई निर्देशन दिए ।

बैठकमा अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे, भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला, आन्तरिक राजश्व विभागका उपमहानिर्देशक सेवन्तक पोखरेल, वीरगन्ज भन्सारका प्रमुख डिलाराम पन्थी, बारा, पर्सा र रौतहटका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी र सशस्त्र प्रहरी प्रमुखलगायत सहभागी थिए ।


प्रतिकृया दिनुहोस्