Hamro Sanchar

कागेश्वरी मनोहराका टोल विकास समितिलाई कर संकलन सम्बन्धि अभिमुखीकरण तालिम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २२ गते


Advertisement

काठमाडौं, चैत २२- कागेश्वरी मनोहरा नगरपालिकाले टोल विकास समितिका लागि कर संकलन अभियान सम्बन्धि एक दिवसीय अभिमुखीकरण तालिम दिएको छ । कर संकलन अभियान संचालन गरिरहेको नगरपालिकाले बिहिबार वडामा दर्ता भएका करिब २ सय टोल विकास समितिका पदाधिकारीहरुको उपस्थितिमा अभिमुखीकरण तालिम दिएको हो ।

विकास र समृद्धिका लागि भन्दै नगरपालिकाले गत फागुन २९ गतेदेखि वडा नम्बर ५ देखि ९ सम्म कर संकलन अभियान संचालन गरिरहेको छ । टोल विकास समितिको सहयोग र समन्वयमा बढीभन्दा बढी कर संकलन गर्ने उदेश्य लिएको नगरपालिकाले समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण तालिम दिएको हो ।

कार्यक्रममा उपस्थित टोल सुधार समितिका पदाधिकारीहरुले आ-आफ्ना सुझाव र टोलभित्र रहेका समस्याहरु राखेका थिए । उठेका प्रश्न र सुझाबलाई समेट्दै नगरपालिकाका मेयर उपेन्द्र कार्की, उपमेयर शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडा नम्बर १ का अध्यक्ष मकुन्द प्रसाद गजुरेल, ३ का अध्यक्ष राममणि पुडासैनी, ५ का अध्यक्ष शंकर पाण्डे, ९ का अध्यक्ष अनिल थापा र राजस्व साखाका प्रमुख जितेन्द्र गिरीले बोलेका थिए ।

अभिमुखीकरणमा मेयर कार्कीले आन्तरिक आय बलियो नबनाएसम्म कागेश्वरी मनोहराबासीको विकासको चाहना पूरा नहुने बताए । नगरले करको दर वृद्धिभन्दा दायरालाई फराकिलो बनाइरहेको मेयर कार्कीको भनाइ थियो ।

विकाससँगै कर संकलनमा नगर निर्मम रूपमा लागिपरेको मेयर कार्कीले बताए । कागेश्वरी मनोहरालाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने लक्ष्य पूरा गर्न कर संकलनलाई अभियानकै रुपमा सञ्चालन गरिएको मेयर कार्कीले बताए ।

अभियानबाट सबैलाई करको दायरामा ल्याउने उपमेयर थापाले बताइन् । खाली हामी कर मात्रै संकलन गर्ने योजना नभएको स्पष्ट पर्दै उनले उठेको करलाई विकास निर्माणमा लगाउने र जनताकै सेवामा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मिश्रले अभियानकाे एउटै उद्देश्य राजश्व अभिवृद्धि र नगरका विकास निर्माण गर्नु रहेको बताए । उनले अहिले ५ वटा वडामा संचालन भएको अभियान केहिदिन बाटै नगरका बाँकी वडामा सञ्चालन गरिने जानकारी दिए ।

नगरपालिकाले अभियान संचालन भएको केहि दिनमै ५४ लाख ५३ हजार ६ सय १४ रुपियाँ संकलन गरिसकेको छ । उक्त रकम स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने सम्पत्ति कर, घर बहाल कर, ब्यबसाय कर, भूमिकरबाट संकलन भएको हो ।

नगरपालिकाले चालु आर्थिक बर्षमा आन्तरिक राजस्व ८६ करोड १२ लाख ९४ हजार ५ सय ३१ रुपियाँ प्रक्षेपण गरेको थियो तर हालसम्म १८ करोड पन्चानब्बे लाख अठ्चालीस हजार १ सय सात रुपियाँ मात्र संकलन गर्न सकेको छ । उक्त रकम प्रक्षेपण गरिएको रकमको २२ प्रतिशत मात्र हो ।

त्यसैले आन्तरिक आयलाई बलियो बनाएर विकास निर्माणका कार्यलाई गति दिन नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को करमा विभिन्न छुट सहुलियतसहित कर संकलन गरिरहेको छ । नगरले करदाताहरुबाट असूल हुन बाँकी रहेको आर्थिक बर्ष ०८०/८१ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुट दिएको छ ।

यस्तै यस अभियानभर घर धनीले बुझाउने बार्षिक बहाल कर, ब्यबसाय कर र सम्पत्ति करमा १० प्रतिशत छुट र आर्थिक बर्ष ०७९/८० सम्मको घर बहाल कर, सम्पत्ति कर र ब्यबसाय कर रकम यस आथिक बर्षभित्र दाखिला गरेमा सम्पूर्ण जरीवाना मिनाहा गरिने बताइएको छ । यस्तै मालपोत, ब्यबसाय तथा अन्य सबै बक्यौता रकमको कर कायम गर्दा चालु बर्ष कायम भएको दरमा जरिवाना लगाइने छैन ।

यो पनि- कागेश्वरी मनोहराले १० प्रतिशत छुट र जरिवाना मिनाहासहित कर संकलन अभियान सुरु गर्दै


प्रतिकृया दिनुहोस्