Hamro Sanchar

कागेश्वरीका ३ वडामा आजबाट १० प्रतिशत छुट र जरिवाना मिनाहासहित कर संकलन अभियान सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २९ गते


Advertisement

काठमाडौं, फागुन २९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को करमा विभिन्न छुट सहुलियत दिने भएको छ । नगर प्रमुख उपेन्द्र कार्कीले करदाताहरुबाट असूल हुन बाँकी रहेको आर्थिक बर्ष ०८०/८१ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुटसहित कर संकलन अभियान संचालन गर्न लागिएको जानकारी दिएका हुन् ।

नगरपालिकाले आन्तरिक आयलाई बलियो बनाएर विकास निर्माणका कार्यलाई गति दिन कर संकलन अभियान  मंगलबारदेखि सुरु भएको छ । आजबाट नगरपालिकाको वडा नम्बर ७,८ र ९ बाट कर संकलन अभियानको सुरु भएको हो ।

नगर प्रमुख कार्कीकाअनुसार यस अभियानभर घर धनीले बुझाउने बार्षिक बहाल कर, ब्यबसाय कर र सम्पत्ति करमा १० प्रतिशत छुट दिएको र आर्थिक बर्ष ०७९/८० सम्मको घर बहाल कर, सम्पत्ति कर र ब्यबसाय कर रकम यस आथिक बर्षभित्र दाखिला गरेमा जरीवानामा मिनाहा गरिने छ । यस्तै मालपोत, ब्यबसाय तथा अन्य सबै बक्यौता रकमको कर कायम गर्दा चालु बर्ष कायम भएको दरमा जरिवाना लगाइने छैन ।

‘नगरको आन्तरिक राजश्व अभिवृद्धि गरी विकास निर्माणलाई तीव्रता दिन अभियान सञ्चालन गरिएको हो । अभियानलाई साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गर्दछौँ ।’ प्रमुख कार्कीले भने । आफुहरु सुशासनयुक्त, विकासमुखी र समृद्ध नगरपालिका निर्माणमा अगाडि बढेको उनले बताए ।

‘अभियानबाट सबैलाई करको दायरामा ल्याउँछौँ । खाली हामी कर मात्रै संकलन गर्दैनौँ उठेको करलाई विकास निर्माणमा लगाउँछौँ । उठेको करलाई जनताकै सेवामा खर्च गर्ने प्रतिबद्धता गर्छौं’ प्रमुख कार्कीले भने ।

अभियानकाे एउटै उद्देश्य राजश्व अभिवृद्धि गर्नु रहेको प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बताए । अभियान नगरका सबै वडामा सञ्चालन गरिने उनले जानकारी दिए ।

यस्तै नगरपालिकाले स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने सम्पत्ति कर, घर बहाल कर, ब्यबसाय कर, भूमिकर, विज्ञापन कर आदि सबै कर नगरपालिकालाई समयमै बुझाउन अनुरोध गरेको छ । सम्बन्धित वडा कार्यालयमा दर्ता गरेर मात्र पसल तथा ब्यबसाय संचालन गर्न भनेको छ ।


प्रतिकृया दिनुहोस्