काठमाडौं, फागुन २२- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा सहभागी हुन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग प्रस्ताव राखेका छन् । सोमबार बेलुका अध्यक्ष नेपालको निवास कोटेश्वरमै पुगेर प्रचण्डले सत्ता साझेदारीको प्रस्ताव गरेका हुन् ।
रुघाखोकीले बिरामी नेपाललाई भेट्न भनेर प्रचण्ड पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित उनको निवास पुगेका थिए । प्रचण्डले गठबन्धनमा आउन प्रस्ताव गरे पनि अध्यक्ष नेपालले पार्टीमा छलफल नगरी निर्णय दिन नसक्ने जवाफ दिएका छन् ।
उनले पछिल्लो राजनीतिक घटनाक्रममा आफ्नो पार्टीलाई निक्कै उपेक्षा गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।