Hamro Sanchar

आजदेखि दादुरा-रुवेलाविरुद्ध खोप अभियान सञ्चालन, कागेश्वरीका ५० हजार बालबालिका समेटिँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, १३ गते


Advertisement

काठमाडौँ, फागुन १३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा आजदेखि दादुरा–रुवेलाविरुद्ध खोप अभियान संचालन हुने भएको छ । अभियानअन्तर्गत नगरपालिकाका ५० हजार २ सय ४२ बालबालिका समेटिने जानकारी दिइएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रबार बिहान स्थानीय तह स्तरीय खोप समन्वय समितिको तथ्यांक तथा अभिमुखीकरण गोष्ठी गरेको छ ।

नगरपालिकामा २०१ खोप सेसन र ८४ खोप केन्द्र केन्द्रमार्फत आगामी १३ गतेदेखि २६ गतेसम्म नगरपालिभरका बालबालिकालाई दादुरा–रुवेलाविरुद्ध खोप कार्यक्रम संचालन हुने स्वास्थ्य शाखा प्रमुख तुलाजा लामाले जानकारी दिइन् ।

९ महिनादेखि १५ बर्ष मुनिका सम्पूर्ण बालबालिका र छुटेका ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम रहेको नगरपालिका खोप फोकल पर्सन ज्ञान बहादुर महतले बताए । उनकाअनुसार कम बालबालिका भएको वडामा खोप अभियान २६ गते अगाबै समाप्त हुनेछ ।

पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने छ ।

सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत आजदेखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।

अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने छ । ती वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने छ ।

बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन् ।

काठमाडौँ महानगरपालिकामा दुई लाख ५० हजार बालबालिका छन् । काठमाडौँ जिल्लाका १० स्थानीय तहमा कागेश्वरी मनोहरा, शङ्खरापुर, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बूढानीलकण्ठ, चन्द्रागिरि र कीर्तिपुरमा फागुन १३ गतेदेखि र काठमाडौँ महानगरपालिकामा यही फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । खोप अभियानमा तीन सय ३२ स्वास्थ्यकर्मी र तीन हजार एकजना स्वयंसेवक परिचालन गरिने छ ।

भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ ।

काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । यो नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ । गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो ।

सजिलै सर्छ दादुरा

मुलपानी नगर अस्पतालका डाक्टर निमेष दाहालकाअनुसार दादुरा सरुवा रोग हो, जुन संक्रामक भाइरसका कारण हुने गर्छ । दादुरा संक्रमित व्यक्तिबाट अन्यमा सजिलै सर्ने गर्छ । सँगै बस्दा, छुँदा, कुराकानी गर्दा, हाच्छिउँ गर्दा र स्वास फेर्दासमेत एक–अर्कामा सर्छ । यो निकै कडा खालको हुन्छ । दादुराबाट बालबालिका बढी प्राभावित हुने गर्छन् । हाल नेपालमा भने एकदमै थोरै बच्चा मात्र दादुराबाट प्रभावित भएको पाइन्छ । विशेषगरी कुपोषण र प्रतिरोधी क्षमता कम भएका बालबालिका दादुराबाट बढी प्रभावित हुने गर्छन् ।

लक्षण

भाइरसको संक्रमण भएको करिब ७ देखि १० दिनसम्म यसको कुनै पनि लक्षण देखिँदैन । यसलाई एक्स्क्लुसन पिरियड भनिन्छ । सुरुवाती चरणमा बच्चामा ज्वरो आउने, आँखा रातो हुने तथा रुघा लाग्छ । यस्ता लक्षण देखिएको करिब चार दिनपछि शरीरमा मसिना बिमिरा देखापर्छन् । धेरैजसोमा निमोनिया हुने गर्छ । जसका कारण बच्चाको मृत्यु हुने सम्भावना धेरै हुन्छ ।

यसबाहेक दिमागमा असर पारेर एन्सेफ्लाइटिस हुन्छ । मुटु, नसा र दिमागमा निकै असर पुर्याउँछ ।

शरीरमा बिबिरा आउनेबित्तिकै कतिपयले दादुरा भएको अनुमान लगाउने गर्छन् । सामान्य बिबिरा आउनु दादुरा नभई अन्य कुनै समस्याको लक्षण पनि हुन सक्छ ।


प्रतिकृया दिनुहोस्