Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेवारी परिकार खाने हो ? खाने भए आउनुस है, भोलि २६ गते नगदेशको प्रांगणमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २५ गते


Advertisement

काठमाडौं, जेठ २५- नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले यही जेठ २६ गते शनिबार मध्यपुर थिमि नगरपालिकामा वः फेस्टिभल तथा ग्रिन भेजिटेबल एक्सपो–२०२४ आयोजना हुने भएको छ।

मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा मध्यपुर पर्यटन विकास समितिको आयोजनामा मेला हुन लागेको हो। मध्यपुरथिमि नगरपालिकाको मध्य भाग अर्थात् वडा नं ७ नगदेशको प्रांगणमा मेला आयोजना हुनेछ।

बिहान १० बजेदेखि बेलुकाको ७ बजेसम्म सञ्चालन हुने मेलामा काठमाडौं उपत्यकाका ख्यातिप्राप्त १८ वटा नेवारी रेस्टुराँसहित स्थानीय किसान, आमा तथा महिला समूहलगायतको विभिन्न ग्रिन भेजिटेबल र विभिन्न परिकारका नेवारी खाना उपलब्ध हुने आयोजक समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए।

उनका अनुसार मेलामा परम्परागत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्री–वितरणका लागि प्रदर्शनी कक्ष राखिनेछ। मेलामा नेवारी रेस्टुराँलगायत स्थानीय किसान र आमा तथा महिला समूहको मिहिनेत खेर नजाओस् भन्ने उद्देश्यले स्थानीय विद्यालय, कलेज तथा सहकारी तथा अन्य संघसंस्थालाई चार लाख रुपैयाँभन्दा बढीको अग्रिम कुपन बिक्रीसमेत भइसकेको समितिले जनाएको छ।

मेलामा विभिन्न वःका परिकार उपलब्ध हुनेछन्। अध्यक्ष प्रजापतिका अनुसार नेवाः समुदायमा जन्मदेखि मृत्यु र मृत्युपछि श्राद्धसम्म, विभिन्न चाडपर्व मनाउन र देवी देवतालाई चढाउन वःका परिवारको प्रयोग गरिन्छ। केही खान मिल्ने वःमा माय् वः, मुँ वः, मुसु वः, भुति वः, तरकारी वः, ला वः/लापी वः, खें वः ख्वल्चा वः, भु वः/तःपा वः, सू वः/बारा वः का नामले पनि चिनिन्छ । बार वःका कारण नेवारी परिकार बारा प्रसिद्ध भएको पाइन्छ ।

लिच्छवि र मल्लकालदेखि नेवार समुदायका विभिन्न चाडबाडमा र जीवनका विभिन्न सुखदुःखमा वःको प्रयोग गरिन्थ्यो । मेलामा वःको ऐतिहासिक, सामाजिक र स्वास्थ्यका लागि के–कति महत्त्वबारे पनि जानकारी दिइनेछ । वःका परिकारबारे मेलाका अवसरमा विज्ञहरूले कार्यपत्रसमेत प्रस्तुत गर्नेछन्।

मेलाले मध्यपुरथिमिको पर्यटन तथा आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । नेवार समुदायको विशेष चाड सिथिनखःको अवसरमा आयोजना हुन लागेको मेलामा मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ पिसेर अण्डा, माछा, मासु तथा मरमसला मिलाई टावामा विभिन्न आकार बनाई पकाइने विशेष परिकारसमेत प्रस्तुत गरिने समितिका अध्यक्ष प्रजापतिले जानकारी दिए ।

मध्यपुरमा गत वर्ष पनि वः फेस्टिभल आयोजना गरिएको थियो । मेलाका लागि नगरपालिकाले ६ लाख रुपैयाँ सहयोग गरेको समितिले जनाएको छ । साथै व्यवसायीहरूले स्वस्फुर्त रूपमा दुई लाख रुपैयाँ सहयोग गरी कुल आठ लाख रुपैयाँ लागतमा मेला सम्पन्न गरिने मेला संयोजक विक्रम बाडेले बताए ।

वः खाने प्रचलन मल्लकालबाट सुरु भएको मान्यता छ। भक्तपुरको तलेजु भवानीलाई चढाइने ८४ प्रकारका रोटीमध्ये वः का विभिन्न प्रकार पनि समावेश गर्ने प्रचलन छ। माय वः, मुं वः, मुसू वः, कःसु वः, भुति वः, मुस्या वः, चिचिन्दा वः लगायतका वःहरू तलेजु भगवानलाई चढाउने गरिन्छ।


प्रतिकृया दिनुहोस्