Hamro Sanchar

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, १४ गते


Advertisement

काठमाडौं, असार १३- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । उनीहरुले कक्षा ११ पढ्न पाउनेछन् ।

दुई लाख ४२ हजार ९२ जना विद्यार्थी अर्थात ५२ दशमलव १४ प्रतिशतको ननग्रेड अर्थात् एनजी आएको छ । एक सय ८६ जनाले चार जिपीए प्राप्त गरेका छन् । दुई सय २१ जनाको परीक्षा रद्द भएको परीक्षा बोर्डले जनाएको छ ।

नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । मोबाइलको एसएमएसमा SEE लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर १६०० मा पठाएर नतिजा थाहा पाउन सकिन्छ । यस्तै आईभीआरको माध्यमबाट पनि नतिजा हेर्न सकिन्छ । १६०० डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा सुन्न सकिन्छ ।

राष्ट्रिय परिक्षा बोर्डको वेबसाईट result.see.gov.np/result मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ । यस्तै नेपाल टेलिकमको वेबसाईट www.see.ntc.nt.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ ।

बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्छ । ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६ दशमलव २५ अङ्क ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्छ । कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६ दशमलव २५ अङ्क नल्याउने विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ ।

विद्यार्थीले दुई विषयसम्म ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । जुन विषयमा एनजी भएको हो त्यही विषयमा मात्र परीक्षा दिए हुन्छ । दुई विषयभन्दा बढीमा एनजी आए अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था निर्देशिकामा गरिएको छ । यस्ता विद्यार्थीले तीन वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ । ग्रेडिङमा परेका विद्यार्थी मात्रै माथिल्लो कक्षामा भर्ना र पठनपाठन गर्न योग्य ठहरिन्छन् ।


प्रतिकृया दिनुहोस्