रौतहट, माघ २०- रौतहट जिल्लाको मुख्य व्यापारिक केन्द्र गरुडा बजारमा खसीको मासुको खुद्रा बिक्री मूल्य निर्धारण गरिएको छ । स्थानीय मासु व्यवसायी र उद्योग वाणिज्य संघ गरुडाको संयुक्त बैठकले खसीको मासुको दुई थरीको भाउ निर्धारण गरेको हो ।
आन्द्रा भुँडी समेतको प्रतिकिलो खसीको ताजा मासु प्रतिकिलो ९०० रुपैयाँ र आन्द्रा भुँडी नभएको मासु प्रतिकिलो ९५० को दरले बिक्री गर्नु पर्ने निर्णय भएको छ ।
निर्धारित दरभन्दा बढी भाउमा बिक्री वितरण गर्ने व्यवसायीलाई ५१ हजार रुपैयाँ जरिवाना गरिने उद्योग वाणिज्य संघ गरुडाका अध्यक्ष सतीश कुमार साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पछिल्लो समय गरुडा बजार क्षेत्र अन्तर्गत केही व्यवसायीले मनपर्दी भाउमा खसीको मासु बिक्री गरिरहेको गुनासो बढेपछि संघले उक्त पहल गरेको बताइएको छ ।