Hamro Sanchar

कागेश्वरी मनोहरा नगरस्तरीय राष्ट्र‌पति रनिङ शिल्ड प्रतियोगिताको भव्य रुपमा उद्घाटन

सुदिप बर्देवा प्रकाशित : २०८० पुष, २५ गते


Advertisement

काठमाडौं, पुस २५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्यताका साथ उद्घाटन गरिएको छ । नगरपालिकाको वडा नम्बर-६ स्थित मुलपानी चौरमा बिभिन्न विद्यालयको मार्चपाससहित केहीबेर अघि उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन कागेश्वोरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्ने अवसर प्रदान गरेको बताए । उनले देश चिनाउन, मानिस स्वास्थ्य रहन खेलकुदको ठुलो महत्त्व हुने भएकोले खेल क्षेत्रको विकासको लागि सबैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।

“तेस्रो कागेश्वरी मनोहरा नगरस्तरीय राष्ट्र‌पति रनिङ शिल्ड प्रतियोगिता-२०८०” प्रतियोगितामा नगरपालिकाभित्र संचालनमा रहेका संस्थागत र सामुदायिक गरि कुल ४९ विद्यालयका १४ सय ३० विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको छ ।

आजबाट सुरु भएको “तेस्रो कागेश्वरी मनोहरा नगरस्तरीय राष्ट्र‌पति रनिङ शिल्ड प्रतियोगिता-२०८०” प्रतियोगिता पुस २९ गतेसम्म चल्ने छ । प्रतियोगितामा भलिबल, कबड्डी, मार्सल आर्ट (कराते र तेक्वान्दो) (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा) एथ्लेटिक १००, २००, ४००, ८००, १५०० र ३००० मीटर दौड, रिले दौड, हाइजम्प, लङ्गजम्प, त्रिपल जम्पक, सर्टफूट, ज्याब्लिङ्ग थ्रो खेलहरु खेलाइने छ । जसमध्ये भलिबल तर्फ वडा नम्बर ९ मा रहेको गान्धी आदर्श मा.वि.मा २६ गतेदेखि २९ गतेसम्म हुनेछ भने मार्सल आर्टमा कराते र तेक्वान्दो खेलहरु वडा नम्बर ५ को थलीमा रहेको कान्तिभैरव मा.वि.मा २५ र २६ गते, एथलेटिक्सका खेलहरु पार्टीचौर (मुलपानी चौर)मा २५ गतेदेखि २७ गतेसम्म र वडा नम्बर ७ अमरसिंह चोकको कबर्ड हलमा २६ देखि २८ गतेसम्म कबड्डीका खेलहरु हुनेछन् ।

सहकारी शाखा प्रमुख विश्वास ज्ञावालीद्धारा संचालित उद्घाटन कार्यक्रममा प्रतियोगिता ब्यबस्थापन तथा निर्देशन समितिका संयोजक एवम् वडा नम्बर ७ का वडाअध्यक्ष भीमसेन थापाले स्वागत मन्तब्य दिएका थिए ।

प्रतियोगितामा नगरपालिकाका ९ वटै वडाहरुको तर्फबाट वडा नम्बर ६ का वडाअध्यक्ष प्रकाश फुयाल, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति कविर शर्मा, नेकपा एमाले बागमती प्रदेश सदस्य विश्वराज श्रेष्ठ, नेकपा माओवादी बागमती प्रदेश सदस्य महेश फुयाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले शुभकामना मन्तब्य दिएका थिए ।

अहिले उद्घाटन स्थलमा एथलेटिक्सका खेलहरु भैरहेका छन् ।

यो पनि पढ्नुहोस्- कागेश्वरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलिदेखि सुरु, ४९ विद्यालय सहभागीता हुने (टाइसिटसहित)


प्रतिकृया दिनुहोस्