काठमाडौं, पुस २४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार (भोलि)देखि शूरु हुने भएको छ । नगरपालिकाको वडा नम्बर-६ मा रहेको मुलपानी चौरमा बिभिन्न विद्यालयको मार्चपाससहित बिहान १० बजे उद्घाटन हुने भएको हो ।
तेश्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ब्यबस्थापन तथा निर्देशन समितिले मंगलबार साँझ नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।
सो प्रतियोगितामा नगरपालिकाभित्र संचालनमा रहेका संस्थागत र सामुदायिक गरि कुल ४९ विद्यालयका १४ सय ३० विद्यार्थी खेलाडीहरुको सहभागिता हुने प्रतियोगिता ब्यबस्थापन तथा निर्देशन समितिका संयोजक एवम् वडा नम्बर ७ का वडाअध्यक्ष भीमसेन थापाले जानकारी दिए ।
पुस २५ गतेदेखि २९ गतेसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी, मार्सल आर्ट (कराते र तेक्वान्दो) (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा) एथ्लेटिक १००, २००, ४००, ८००, १५०० र ३००० मीटर दौड, रिले दौड, हाइजम्प, लङ्गजम्प, त्रिपल जम्पक, सर्टफूट, ज्याब्लिङ्ग थ्रो खेलहरु खेलाइने छ । जसमध्ये भलिबल तर्फ वडा नम्बर ९ मा रहेको गान्धी आदर्श मा.वि.मा २६ गतेदेखि २९ गतेसम्म हुनेछ भने मार्सल आर्टमा कराते र तेक्वान्दो खेलहरु वडा नम्बर ५ को थलीमा रहेको कान्तिभैरव मा.वि.मा २५ र २६ गते, एथलेटिक्सका खेलहरु पार्टीचौर (मुलपानी चौर)मा २५ गतेदेखि २७ गतेसम्म र वडा नम्बर ७ अमरसिंह चोकको कबर्ड हलमा २६ देखि २८ गतेसम्म कबड्डीका खेलहरु हुनेछन् ।
ब्यबस्थापन तथा निर्देशन समितिले प्रतियोगिताको टाईसिट गोलाप्रथाद्बारा सोमबार सार्वजनिक गरिसकेको छ ।
प्रतियोगिता गत पुस १० गतेबाट १४ गतेसम्म गर्ने भनिएपनि विविध प्राविधिक कारणले स्थगित गर्नुपरेको नगरप्रमुख उपेन्द्र कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए । नगरपालिकाभित्र संचालित अधिकांश विद्यालय र धेरैभन्दा धेरै विद्यार्थी खेलाडीहरुको सहभागीता गराउने नगरपालिकाको उदेश्य रहेपनि उक्त समयमा करिब २० विद्यालयले मात्र नोमिनेसन गरेकोले प्रतियोगिता सार्नुपरेको नगरप्रमुख कार्कीले स्पष्ट पारे । तर नगरप्रमुखलाई लक्षित गरि अतिरन्जित तरिकाले दुष्प्रचार गरिएको भन्दै उनले दु:ख व्यक्त गरे ।
‘पुस १० गतेबाट तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गर्ने भनेर निर्णय भयो र त्यहिअनुसार तयारीमा हामी थियौं । प्रतियोगितामा अधिकांश विद्यालय र धेरैभन्दा धेरै विद्यार्थी खेलाडीहरुको सहभागीता गराउने उदेश्य थियो तर उक्त समयसम्म करिब २० विद्यालयले मात्र नोमिनेसन गरेको देखियो । त्यसपछि हामीले १४ गते सम्पन्न हुने प्रतियोगिता सार्यौं । १५ गतेदेखि मेरो दक्षिण कोरिया भ्रमण थियो । तर मलाई लक्षित गरि प्रतियोगिता सारेको भनेर आक्षेप लगाइएको रहेछ । यस्तो सस्तो टिकाटिप्पणी नगरेको भए हुन्थ्यो ।’, नगरप्रमुख कार्कीले भने ।
नगरप्रमुख कार्कीले भोलिदेखि सुरु हुने खेल अत्यन्तै ब्यवस्थित र अनुशासीत रुपमा सम्पन्न हुने विश्वास ब्यक्त गरे । उनले नगरस्तरीय प्रतियोगितामा छनौट हुने खेलाडीहरुले जिल्ला स्तर हुँदै प्रदेश र राष्ट्रिय स्तरमासमेत सहभागीता जनाउने बताए ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख गोविन्द प्रसाद शर्माले संचालन गरेको पत्रकार सम्मेलनलाई प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले समापन गरेका थिए ।
हेर्नुहोस् टाइसिट र नियमहरु-