पोखरा, पुस ९- जनआन्दोलन २०६२/०६३ मा हटाइएको स्व. राजा वीरेन्द्र वीरविक्रम शाहको सालिक मध्यरातमा फेरि ठड्याइएको छ । पोखरा १० स्थित वीरेन्द्र चोकमा सालिक राखिएको हो । तत्कालीन राजाकै वीरेन्द्रकै नामबाट चोकको नाम राखिएको थियो ।
२०५९ चैतमा स्थापित सालिकलाई जनआन्दोलनको समयमा माओवादीका नेता तथा कार्यकर्ताले फालिदिएका थिए । गएराति १ बजेर ४५ मिनेट जाँदा स्थानीयकै समन्वयमा सालिक पुनःस्थापना गरिएको हो ।
आठ फिट अग्लो सालिकको लागत २५ लाख रहेको बताइएको छ । सालिक पुनःस्थापना गर्न स्थानीयको समिति बनेको थियो ।