Hamro Sanchar

जजिरा र एयर अरेबियाको टिकट चोरी प्रकरण : मर्स्याङ्दी ट्राभल्सका सञ्चालक पक्राउ

रासस प्रकाशित : २०८० मंसिर, १६ गते


काठमाडौँ, मंसिर १६- जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मस्याङ्दी ट्राभल्सका सञ्चालक तथा पर्वत घर भएका ४७ वर्षीय हरिप्रसाद सुवेदी रहेका केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रुगम कुँवरले राससलाई जानकारी दिए ।

उनले भने, “जियोल्याण्ड ट्राभल्सको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा सुवेदीलाई पक्राउ गरिएको छ । उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ ।”

यसअघि यही मङ्सिर ६ गते ब्युरोको टोलीले सामाखुसीस्थित मस्याङ्दी ट्राभल्सका म्यानेजर नारायण सुवेदीलाई पक्राउ गरेको थियो । आरोपीहरुले बालुवाटारस्थित जियोल्याण्डको युजर आइडी ह्याक गरेर जजिरा र एयर अरेबियाको टिकट चोरी गरेको आरोप छ ।

ह्याकरहरुले पटकपटक गरेर रू एक करोड ९९ लाख ८२ हजार रकम बराबरको टिकट चोरी गरेको ब्युरोको अनुसन्धानबाट खुलेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुँवरले बताए । उनले भने, “अहिलेसम्म कम्तीमा पनि तीन सय ३७ नेपाली र विदेशी नागरिकका नाममा अवैध तरिकाले टिकट चोरी गरेको भेटिएको छ ।”


प्रतिकृया दिनुहोस्