
काठमाडौँ, मंसिर ६- काठमाडौँ प्रशासनले राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निशेधाज्ञा जारी गरेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क)अनुसार, सो निषेधित क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउन, अनशन सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने आज जारी निषेधाज्ञामा उल्लेख छ ।
शितलनिवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुशी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म र बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ ।
युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले यही ७ गते शक्ति प्रदर्शन गर्न लागेपछि प्रशासनले उक्त निर्णय गरेको हो । यसअघि माइतीघर क्षेत्र र ललितपुरको पुलचोक क्षेत्रलाई निषेधाज्ञा जारी गरिसकिएको छ ।