काठमाडौं, मंसिर १- प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकार सोचेभन्दा बढी टिकाउ बनिरहेको भन्दै खुशी व्यक्त गरेका छन् । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको समुद्घाटन गर्दै प्रचण्डले यो गठवन्धन पाँचै वर्ष जाने दाबी गरे ।
उनले भने, ‘यो गठबन्धन पाँचै वर्ष जान्छ, मलाई १ महिनाभन्दा बढी तेरो जाँदैन भन्थे । ठीकै छ, एक महिनामा राम्रो काम गर्ने कोशिष गर्छु र गदागर्दै छोड्नुपरो भने जनता न्यायाधीश छन् । जनताको घरदैलोमा जान्छु मलाई प्रम हुनैपर्छ भन्ने छैन भनेको थिएँ । भन्दाभन्दै १० महिना, अब ११ महिना हुन लाग्यो, बाँचिराखिएकै छ । प्रधानमन्त्री पनि भइराखिएकै छ । अझै राम्रो काम गर्ने विचार छ मेरो । भ्रष्टाचार र बेइमानलाई अझै बढी ठीक पार्ने विचार छ ।’