
काठमाडौँ, कात्तिक १८- भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जान चाहनेका लागि पूर्व अरनिको यातायात समितिले आजका लागि निःशुल्क बस सञ्चालन गर्ने घोषणा गरेको छ ।
काठमाडौँको कोटेश्वर–जडीबुटीमा रहेको अरनिको बसपार्कबाट आज दिउँसो ४ बजेसम्म पुग्ने रुकुम पश्चिम र जाजरकोट बासीका लागि निःशुल्क बस सेवा दिन लागिएको पूर्व अरनिको यातायात समितिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।
उनले भने– ‘आज दिउँसो ४ बजेसम्म जडीबुटीमा रुकुम पश्चिम र जाजरकोटका जति जना आउनुहुन्छ यहाँहरूका लागि चाहे जति बस उपलब्ध गराउने व्यवस्था गरेका छौँ । उहाँहरू आज ४ बजेसम्म जडीबुटी आइपुग्नुपर्ने छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको अनुरोधमा हामीले ४ वटा बस तयारी अवस्थामा राखेका छौँ । ती बसले पुगेन भने अरू बस पनि थप गर्नेछौँ ।’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेतको पहलमा काठमाडौँमा बसोबास गरिरहेका जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित व्यक्तिहरूका लागि ४ वटा बस निःशुल्क गरिएको उनले बताए ।
भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका व्यक्ति आर्थिक अभावले घर जान नसकेको अवस्था भए सम्पर्क गर्न पनि पूर्व अरनिको यातायातले आग्रह गरेको छ ।