Skip

Hamro Sanchar

महासचिव नपाएपछि ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २९ गते


काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको टिमबाट महासचिवमा दाबी गरेका ज्ञवालीलाई उपाध्यक्ष बनाइएकोमा असन्तुष्ट थिए । अन्ततः ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यसले अध्यक्ष ओलीको टीममा खैलाबैला मच्चाएको छ ।

प्रदीपका प्रस्तावकमा फर्सु पाण्डे र समर्थक रामजी ढकाल छन् । पाण्डे लुम्बिनी प्रदेश कमिटी सदस्य र ढकाल कालीगण्डकी गाउँपालिका अध्यक्ष हुन् ।

महासचिवको उम्मेदवार नबनाइएको प्रति चित्तबुझ्दो जवाफ माग्दा अध्यक्ष ओलीले केही पनि नभनेपछि कुनै पदमा नउठ्ने भन्दै उनी बाहिरिएका थिए । निकटस्थको अनुरोधपछि केन्द्रीय सदस्यमा नोमिनेसन गरेका छन् ।

देशभर पार्टी स्कूल विभागमार्फत प्रशिक्षण कार्यक्रम चलाएर एमालेको जरा तहसम्म आफ्नो प्रभाव र पहुँच स्थापित गरेका नेता ज्ञवाली यसपटक महासचिवका दाबेदार थिए । उनलाई महासचिव बनाउने सन्दर्भमा अर्का प्रतिस्पर्धी पृथ्वीसुब्बा गुरुङ पनि सकारात्मक भएर उपाध्यक्षमा सहमत भएका थिए ।

तर उम्मेदवार संशोधन गर्ने आग्रह ओलीले अश्वीकार गरेपछि ज्ञवालीले पहिलोपटक ओलीसँग विद्रोह गरेर केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका हुन् ।


प्रतिकृया दिनुहोस्