Hamro Sanchar

इजरायलमा मारिएका ४ जना नेपाली विद्यार्थीको शव आज ल्याइँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, ४ गते


काठमाडौं, कात्तिक ४- दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये चार जनाको शव आज (शनिबार) नेपाल ल्याइँदै छ ।

कानुनी प्रक्रिया पूरा भएका चार विद्यार्थीको शव स्थानीय समयअनुसार शनिबार दिउँसो फ्लाइ दुबईको उडानबाट नेपाल ल्याइन लागिएको तेलअभिभस्थित नेपाली राजदूतावासले बताएको छ ।

दूतावासका अनुसार इजरायलबाट फ्लाइ दुबईको उडान नम्बर एफजेड– १२१० मार्फत दुबईसम्म र त्यसपछि फ्लाइ दुबईकै उडान नम्बर एफजेड– ८३५१ मार्फत काठमाडौंसम्म पुग्ने गरी व्यवस्था मिलाइएको छ ।

उडान विवरण अनुसार शव कात्तिक ५ गते, आइतबार बिहान काठमाडौं पुग्नेछ । इजरायलमा हमास समूहको आक्रमण परी दस जना नेपालीको निधन भएको छ । तीमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको शव ल्याइन लागिएको हो ।

अन्य शव पहिचानको काम क्रमशः भइरहेको दूतावासले जनाएको छ । त्यस्तै सम्पर्कबिहीन रहेका विपीन जोशीको खोजी कार्यमा आफ्नो प्रयास केन्द्रित गरिरहेको पनि दूतावासले उल्लेख गरेको छ ।


प्रतिकृया दिनुहोस्