Hamro Sanchar

२४ महिनाका लागि २४ बाचासहित एनआरएनए अध्यक्षमा आरके शर्माको उम्मेदवारी घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, २६ गते


काठमाडौं, असोज २६- गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि वर्तमान उपाध्यक्ष राजेन्द्रकुमार (आर.के.) शर्माले २४ महिनाका लागि २४ बाचासहित अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी शर्माले संघको आगामी कार्यकालका लागि प्यानलसहित औपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मूल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र पनि सार्वजनिक गरेका छन् ।

काठमाडौंमा १७ अक्टोबरदेखि तीन दिनसम्म हुने एनआरएनएको ११औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।

शर्मा टिमको उपाध्यक्षमा गोविन्द प्रसाद श्रेष्ठ (रोविन्द), खगेन्द्र न्यौपाने, अभिमान सिंह बस्नेत, विजय मोक्तान, शसिकान्त पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै, युवातर्फको उपाध्यक्षमा अब्दुल वासिदले उम्मेदवारी घोषणा गरेका छन् । उपमहासचिवमा प्रवीण गुरुङ, सचिवमा आरसी पोखरेल, टंक गैरे, लोक दाहाल, मनोज कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका हुन् ।

कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना उम्मेदवारी दिने भएका छन् । यस्तै, महिला संयोजक देवकी केसीको पनि उम्मेदवारी दिने भएकी छन् । ११औँ महाधिवेशनमा ६९ भन्दा बढी देशका ४२ हजार सहभागी हुने बताइएको छ ।

शर्मा एनआरएनएका वर्तमान उपाध्यक्ष हुन् । नेतृत्वका लागि समर्थन जुटाउन उनले जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडालगायत ४० देशबाट सुझाव संकलन गरिसकेको बताए ।

विप्रेषण रकमको प्रयोगलाई उत्पादनमुलक उद्यमसँग जोड्ने उनको योजना छ । शर्माले गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठनमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । आफूलाई सबै देशका मतदाताको सहयोग रहने उनको विश्वास छ । आफूले जितेमा विश्वभरमा नेपालीलाई एके ठाँउमा ल्याउन पहल गर्ने बताए ।

शर्माको आफ्ना बाचाहरुमा, एनआरएनहरुबीचको एकताको पहिलो प्रतिबद्धता रहेको छ । त्यस्तै वैदेशिक रोजगार: दक्ष जनशकि सुरक्षित वातावरण, सामाजिक सुरक्षा, हाम्रो नीति: सुधारौ श्रमिकको आर्थिक स्थिति, विप्रेषणको प्रयोग कहाँ उत्पादनमूलक उद्यम हुन्छ जहाँ, एनआरएनएको निरन्तर खटन: गैरआवाशीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठन, सांगठनिक पुनर्संरचना: कार्यदलबाट गहन योजना, मानव संशाधन: सबलीकरणयुक्त कार्यसम्पादन, गैरआवासीय सरोकार: नागरिकता र मताधिकार, नेपाल समृद्धिको दस्ता गैरआवासीय दोस्रो पुस्ता, अबको समृद्धि: जगेर्ना गरौँ भाषा र संस्कृति रहेका छन् ।

साथै, एनआरएनए शक्ति: अधिकारसम्पन्न एनसीसी,विदेशमा सिकेको ज्ञान: देश निर्माण अभियान, देश विकासको बल: एक एनसीसी, हजार पर्यटक,एनआरएनए निर्वाचन: सबैले गर्न पाऊन् मतदान, संस्थागत सुशासन: शून्य सहनशील स्वअनुशासन,घटाओं वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार कार्यक्रम, अग्रजलाई सम्मान: युवा परिचालन र विज्ञबाट ज्ञान, नेपाली धन, नेपाली श्रम: अबको उद्यम, आर्थिक कुटनीति: लगानी प्रबर्द्धन मुख्य नीति,समावेशी अभियान: महिला सदस्यलाई प्रोत्साहन,गरौं उच्चतम् प्रयोग सूचना प्रविधि: हुन्छ विकास र समृद्धि, प्रभावकारी सञ्चार व्यवस्थापन तथा सम्बन्ध विस्तार कार्यक्रम, नेपाली रोजौं, नेपाली खोजौं स्निर्यात बढाउन जोडतोडले लागौं,योजनाबद्ध कार्यान्वयन: न्यायपूर्ण २४ कार्यसम्पादन मूल्यांकन लगायतका प्रतिबद्दता राखेका छन् ।

शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन् । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आईसिसी सदस्य, मध्यपूर्व संयोजक र आईसीसी सचिव भएर काम गरेका छन् ।

नेपालको बाग्लुङ जिल्लामा वि.सं. २०३८ साल मंसिर १३ गते मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि अर्थात् सन् २००३ मा पैसा उठाउन भनेर कतार पुगेका थिए ।

कतारमा पैसा लिनुपर्ने मान्छे नभेटेपछि उनले त्यहीँ नै एउटा निर्माण कम्पनीमा अकान्टेन्टको रुपमा जागिर सुरु गरेका थिए । हाल उनी कतारमा एक सफल नेपाली व्यवसायीका रुपमा चिनिन्छन् ।

यसअघि एनआरएनए अध्यक्षका लागि महेश श्रेष्ठले काठमाडौंमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।


प्रतिकृया दिनुहोस्