Hamro Sanchar

हमास–इजरायल भिडन्तमा ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, २२ गते


Advertisement

एजेन्सी, असोज २२- मध्यपूर्वमा चरमपन्थी प्यालेस्टिनी समूह हमास र इजरायलबीच लडाइँ हुँदा हालसम्म दुवै पक्षका गरी कम्तीमा ११ सय मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

चरमपन्थी समूह हमासको आक्रमणमा परेर ७०० इजरायली र इजरायली सेनाको आक्रमणबाट ४०० प्यालेस्टिनीको मृत्यु भएको अमेरिकी समाचार संस्था सीएनएनले बताएको हो । शनिबार जमिन, अकास र समुद्रबाट एकैसाथ हमासले अचानक आक्रमण गरेपछि इजरायल प्रतिकारमा उत्रिएको थियो । इजरालयमाथि हमासको आक्रमण ५० वर्षयताकै ठूलो आक्रमण ठानिएको छ ।

आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमासविरुद्ध युद्ध लडिरहेको घोषणा गर्दै निमिट्यान्न पारिने चेतावनी दिएका छन् । हमासले कैयौं इजरायली नागरिक र सैनिकलाई बन्दी बनाएको छ । हमासको आक्रमणपछि इजरायलले गाजापट्टी क्षेत्रमा आक्रमण गरेको छ । इजरायली सेनाले आवासीय भवनमा समेत आक्रमण गर्न थालेपछि गाजा क्षेत्रबाट १ लाख २३ हजार ५३८ मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

द्वन्द्वलाई लिएर इरानले हमासको चरमपन्थी लडाकु समूह हमासलाई बधाइ दिएको छ भने इराकलगायतका मुस्लिम देशहरुले प्यालेस्टिनी नागरिकको रक्षाका लागि अपिल गरेका छन् । आजै बसेको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् बैठक द्वन्द्व अन्त्यका लागि सहमति जुट्न नसकेपछि सदस्य राष्ट्रयहरु संयुक्त विज्ञप्ति निकाल्न असफल भएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई सैनिक समर्थन जुटाउन जंगीबेडासहितको जहाज पठाएका छन् । उक्त जहाजमा लडाकु विमान, क्रुज मिसाइल, क्षेप्यास्त्र, सैनिकलगायत टोली रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 

 


प्रतिकृया दिनुहोस्